
काठमाडौं । नेकपा एमालेका सांसदहरुले संसदीय समितिको नेतृत्वका लागि लबिङ थालेका छन् । सत्ता गठबन्धनसँगको भागबण्डामा तीन समितिको नेतृत्व पाएपछि एमालेका सांसदहरुले सभापति बन्न लविङ थालेका हुन् ।
एमालेले सार्वजनिक लेखा समिति, महिला तथा सामाजिक मामिला समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको नेतृत्व पाएको छ ।
एमालेले सार्वजनिक लेखा समितिमा एमालेबाट अच्युतप्रसाद मैनाली, ऋषिकेश पोखरेल, गोकुल बास्कोटा, तारा लामा तामाङ, दामोदर भण्डारी र योगेश भट्टराई गरी ६ जनाको सहभागिता छ । एमाले नेताहरुका अनुसार मैनाली र पोखरेलमध्ये एकजना सभापति भन्ने सम्भावना छ ।
महिला तथा सामाजिक मामिला समितिमा एमालेबाट अस्मा कुमारी चौधरी, ईश्वरबहादुर रिजाल, टोपबहादुर रायमाझी, बिना देवी, शान्ति श्रेष्ठ, शोभा ज्ञवाली र हर्कमाया विश्वकर्मा सहभागी छन् ।
यस समितिको नेतृत्व महिला सांसदले गर्नेछन् । एमालेले यस समितिका पाँच महिला मध्येबाटै एक जनालाई सभापतिका रुपमा अगाडि सार्ने तयारी गरेको छ । एमालेको भागमा परेको संयुक्त समिति भने अहिलेसम्म गठन नै भएको छैन ।
नेपालको संसदीय इतिहासमा विषयगत समितिमा प्रमुख प्रतिपक्षले पहिलो पटक भाग पाएको छ । संसदीय परम्परा भएका मुलुकहरूमा सरकारलाई ‘चेक एन्ड ब्यालेन्स’ गर्न लेखा समितिको नेतृत्व प्रतिपक्षीलाई दिने प्रचलन छ ।
संसदको सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षले पाउने नेपालमा परम्परा भएपनि अन्य समितिमा पनि यस पटक भाग पाएको हो ।














