
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गृहजिल्ला रोल्पामा मंगलबार भएको बस दुर्घटना प्रति दुख व्यक्त गरेका छन् ।
रोल्पाबाट दाङको घोराहीका लागि छुटेको ना५ख २६१२ नम्बरको बस मंगलबार त्रिवेणी गाउँपालिका–७ रिचीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो । दुर्घटनामा परि ११ महिने शिशुसहित १५ जना घाइते भएका छन् ।
उपमहासचिव पुनले दुर्घटनामा भएको मानवीय क्षतिले मर्माहत भएको बताएका छन् । पुनले दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा परेका परिवारमा समवेदना व्यक्त गरेका छन् ।
पुनले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बढ्दो सडक दुर्घटना र त्यसबाट भइरहेका मानवीय क्षति न्यूनीकरणका लागि गम्भीर ध्यान दिन सरोकारवाला निकायसँग आग्रहसमेत गरेका छन् ।
रोल्पाबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका पुनले घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिनुका साथै उक्त कार्यमा आफ्नो समन्वय आवश्यक भए जानकारी गराउन प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई आग्रह गरेका छन् ।
दुर्घटनामा माडी गाउँपालिका–४ का ५० वर्षका गोरख डाँगी, उनकी श्रीमती ४६ वर्षीया हस्ता डाँगी, माडी–२ का २२ वर्षीय प्रकाश बाँठा र परिवर्तन गाउँपालिका–३ का ४५ वर्षका भक्तबहादुर विकको मृत्यु भएको हो । प्रहरीले दुर्घटनामा चालकको लापरबाही देखिएको भन्दै चालक दाङको घोराहीका २४ वर्षीय हुमराज बस्नेतलाई नियन्त्रणमा लिएको छ ।














