
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राख्ने भएको छ ।
बुधबार बिहान बालुवाटारमा बसेको प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा सहमति जुट्न नसकेपछि एमालेले आज १ बजेका लागि बोलाइएको बैठकमा अवरोध कायमै राख्ने भएको हो ।
एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले आज पनि आफूहरूले सदनमा आफ्ना विषय राख्ने र सरकारले समिति गठन नगरेसम्म अवरोध कायमै राख्ने बताए । एमालेले साउन १० गतेबाट सदन चल्न दिएको छैन ।
एक क्विन्टल सुन प्रकरणमा सत्ता पक्षका नेता र मन्त्रीहरू नै जोडिएकाले छानबिनका लागि समिति गठन गर्न माग गर्दै एमालेले दुई हप्तादेखि सदन चल्न दिएको छैन । सदन खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरन्तर शीर्ष तहमा छलफल गरिरहेका छन् ।














