जनकपुरधाम । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्तरिक तथा बाह्य दुवै लगानी वृद्धिका लागि नीतिगत स्थिरता आवश्यक रहेको बताएका छन् । जनकपुरधाममा बुधबार नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेश कार्यालयको भवन उद्घाटन समारोहमा अध्यक्ष ढकालले लगानीका लागि नीतिगत स्थिरता आवश्यक रहेको बताएका हुन् ।

अध्यक्ष ढकालले भने, ‘नीतिगत अस्थिरताले गर्दा लगानीमैत्री वातावरण बन्न सक्दैन । कुनैपनि मुलुकको कानुन, नीति अस्थिर भयो भने स्वदेशी होस् वा विदेशी दुवै लगानी भित्र्याउन सकिँदैन । त्यसैले हामीले सबैभन्दा पहिले नीतिगत स्थिरता बनाउन जरुरी हुन्छ । अनिमात्र लगानी भित्र्याउन सकिन्छ ।’
उनले महासंघमा नयाँ कार्यसमिति आइसकेपछि विभिन्न फोरमबाट लगानीको वातावरण बनाउन पहल भइरहेको भन्दै लगानीमैत्री वातावरण बन्न सकेमा आन्तरिक वा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन समस्या नहुने बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको समयमा नेपाली उद्योगी व्यवसायीको नेतृत्व गर्दै महासंघले भारतीय उद्योगी व्यवसायीसँग दुई देशबीच लगानी तथा व्यावसायिक सम्बन्धमा छलफल भएको पनि अध्यक्ष ढकालले जानकारी दिए ।
उनले भने, ‘प्रधानमन्त्रीको भ्रमणको समयमा नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले संयुक्तरुपमा आयोजना गरेको बिजनेस फोरममा दुई देशका व्यवसायीबीच सौहार्दपूर्ण छलफल भएको थियो । नेपालका प्रधानमन्त्रीज्यू, दुई देशका मन्त्रीज्यूहरू, प्रतिष्ठित उद्यमी व्यवसायीहरूको उपस्थिति र गहल छलफलबाट दुई देशबीच व्यावसायिक सम्बन्ध विस्तार गर्न सहयोग पुग्नेछ भन्ने हाम्रो अपेक्षा छ ।’
अध्यक्ष ढकालले बंगलादेशमा आयोजना भएको बिम्स्टेक सदस्य राष्ट्रहरूको छलफलबाट बिम्स्टेक बिजनेस फोरम गठनदेखि सदस्य राष्ट्रहरूबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको पनि बताए ।











