काठमाडौं, १७ पुस । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन अपिल गर्नुभएको छ । बेरीले नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन अमेरिकी मिसनका सबै सामाजिक संजालहरुमा नेपाललाई एक उत्कृष्ट पर्यटकीय गन्तब्यको रुपमा प्रचार गर्ने घोषणा गर्नुभएको छ ।

बेरीले आफ्नो ट््वीटरबाट नेपाल भ्रमण बर्षको अभियानलाई सफल बनाउन अपील गरेको कुरा अमेरिकी राजदूताबासको फेसबुक पेजबाट बिहीबार सार्वजनिक गरिएको छ । अमेरिकी राजदूताबासका अनुसार आउने केही साता नेपालस्थित अमेरिकी मिशनमा कार्यरत कर्मचारी र परिवारले नेपाल घुम्दाको अनुभव र तस्वीर सामाजिक संजालमा सेयर गर्नेछन् । जो नेपाल घुम्न आउने हजारौं अमेरिकी पर्यटकहरूजस्तै नेपालको सुन्दरतामा रमाउन मन पराउनुहुन्छ । अमेरिकी दूताबासले फेसबुक पेजमा अपिलसँगै राजदूत बेरीले नेपालका विभिन्न मठ मन्दिर र पर्यटकीय गन्तब्य घुमेका तस्वीर समेत राखेको छ ।












