Logo
Logo

शहीद स्मारक लिग : १० अंकसहित मनाङ शीर्ष स्थानमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ पुस । शहीद स्मारक ए डिभिजन लिगको चौथो चरणका खेलसम्म आइपुग्दा मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा छ । चार खेलमा तीनमा जीत तथा एक खेल बराबरी खेल्दै मनाङ १० अंकका साथ शीर्ष स्थानमा रहन सफल भएको हो ।
तेस्रो चरण सकिँदासम्म शत प्रतिशत नतिजा निकालेको मनाङ चौथो चरणमा फ्रेन्डस् क्बलसित १–१ को बराबरी खेल्न पुगेको थियो । तीन खेलमा जीत तथा एकमा बराबरी खलेको मछिन्द्र क्लब दोस्रो स्थानमा छ । मछिन्द्रले चौथो चरण सकिँदा नौ अंक जोडेको छ ।
यस्तै तीन खेलमा जीत तथा एकमा हार बेहोरेको त्रिभुवन आर्मी क्लब नौ अंकसहित लिगको तेस्रो स्थानमा छ भने दुई खेलमा जीत तथा दुईमा बराबरी खेल्दै आठ अंकका साथ जावलाखेल चौथो स्थानमा छ । नेपाल पुलिस क्लब दुई खेलमा जीत, एउटामा हार तथा एउटामा बराबरी खेल्दै सात अंक जोडेर पाँचौँ स्थानमा पुग्न सफल भएको छ ।
यसैगरी दुई खेलमा जीत, एकमा हार र एउटामा बराबरी खेलेको थ्री स्टार सात अंकसहित लिगको छैटौँ स्थानमा छ । ब्रिगेड ब्वाइज क्लब दुईटामा जीत र दुई खेलमा हार बेहोर्दै छ अंकसहित सातौँ स्थानमा, न्यूरोड टिम दुई खेलमा जीत र दुई पराजित हुँदै चार अंकका साथ आठौँ, च्यासल युथ क्लब एक खेलमा जीत, दुईमा हार र एउटामा बराबरी खेल्दै चार अंकसहित नवौँ स्थानमा छ ।
सशस्त्र प्रहरी बलको एपीएफ क्लब चार खेलमा एउटामा जीत, दुईमा हार र एकमा बराबरी खेल्दै चार अंकसहित दशौँ स्थानमा र संकटा क्लब एउटा खेलमा जीत, दुईमा हार तथा एउटामा बराबरी खेल्दै चार अंकसहित एघारौँ स्थानमा छ । उनीहरू समान अंक भए पनि गोल अन्तरका आधारमा दशौँ र ११औँ भएका हुन् ।
हिमालयन शेर्पा क्लब दुई खेलमा हार तथा दुईमा बराबरी खेलेर दुई अंक जोडेर १२औँ स्थानमा रहेको छ । चार खेलमा तीनमा हार तथा एकमा बराबरी खेल्दै एक अंक बटुलेको फ्रेन्डस् क्लब १३औँ स्थानमा छ । तेस्रो चरणको खेल सकिँदा फ्रेन्डस् क्लब अंकबिहीन थियो । तेस्रो चरणमा अंकविहीन अवस्थामा रहेको सरस्वती युथ क्लबको अवस्था चौथो चरणको खेल सकिँदा पनि उस्तै छ । ऊ चार खेलमै हार बेहोर्दै अंकविहीन नै छ ।
पाँचौँ चरणका खेल शनिबारदेखि हुनेछन् । पाँचौँ चरणका खेल दशरथ रंगशाला र सातदोेबाटोस्थित अखिल नेपाल फुटबल संग (एन्फा) कम्प्लेक्सको खेल मैदानमा खेलाइनेछ ।

प्रतिक्रिया दिनुहोस्