Logo
Logo

ल्हारक्यालका प्रवक्ता बन्नुपर्दा पर्यटनमन्त्री लाजले भुतुक्कै



लार्केलका प्रवक्ता
लुम्विनी विकास कोषको उपाध्यक्षमा विवादास्पद ल्हारक्याल लामालाई नियुक्त गरेपछि पर्यटनमन्त्री सुदन किराती पुर्पुरोमा हात राखेर बस्न थालेका छन् ।

दिनको दशपटक पत्रकारहरुले फोन गरेर हैरान छ । ल्हारक्यालको प्रवक्ताजस्तो बनेर मन्त्रीले जवाफ फर्काउनुपर्दा मन्त्री किराती लाजले भुतुक्कै भएका छन् । त्यही भएर होला एक जना पत्रकारले लार्केलको बैंक लकरमा १४ वटा गोली फेला प¥यो नि भनेर प्रश्न सोध्दा, मन्त्री किरातीले झोक्किदै भने– मैले गोली देखेको छैन भन्दा कान्तिपुरका सुरज कुँवर ट्वाँ परे ।

एमाले वायु पुत्र
एमाले अध्यक्ष केपी ओलीले हरेक भाषणमा नयाँनयाँ उट्पट्याङ कुरो झिकेर कार्यकर्तालाई हँसाउँछन् । त्यसैमा एमाले कार्यकर्ताहरु पनि दंग छन् ।

गत साता एमालेको एउटा कार्यक्रममा ओलीले एमाले अरुजस्तो लारालुरे पार्टी होइन, एमाले त वायु पुत्र हुनमान हो, जो हावामा उड्छ भन्दा एमाले कार्यकर्ताले तर्रर ताली ठोकेको देखेर प्रदीप ज्ञवाली पेट मिचीमिची हाँसे ।

प्रचण्डको निर्देशन
कांग्रेस, एमाले, समाजवादी सबै पार्टी आ–आफ्नो केन्द्रीय कमिटीको बैठकमा व्यस्त छन् । माओवादी अध्यक्ष प्रचण्ड हालैको केन्द्रीय कमिटीको बैठक सकेर हाइसञ्चो मानिरहेका छन् ।

प्रचण्डले कार्यकर्ताहरुलाई तीन महिनाभित्र गाउँका जनताको घरघर गएर जागरण अभियान सञ्चालन गर्ने निर्देशन दिए । प्रचण्डको निर्देशन सुनेर ओम शर्माले भन्दै थिए– गाउँमा मान्छे भए पाे घर घर जानु । युवा जति खाडी पसिसके, रित्तो घर डुलेर के को जागरण अभियान भन्दा महेश्वर दाहालले जिब्रो टोके ।

सुनिलबहादुर थापा जिल्ल
बोहराटारबाट बालुवाटार सर्ने रामचन्द्र बाजेको सपना यो जुनीमा सपनै भयो । तै पनि प्रचण्डको कृपाले राष्ट्रपति भा’ छन् ।

राष्ट्रपति भएर पनि सुख कहाँ छ र ? बिरामी भएको भई दिल्ली उपचार गर्न जाँदा आफ्नै सल्लाहकारले उपचार खर्च आफैँले व्यहोर्नुपर्छ भने । विज्ञप्ति पनि निकाले । अहिले परराष्ट्रले अर्थसँग ५५ लाख उपचार खर्च माग्दा तिनै सल्लाहकारले त्यो पैसा त कहाँ उपचारको हो र ? त्यो त एयर एम्बुलेन्सको खर्च हो भन्दा रामचन्द्र बाजे अक्क न बक्क परेको देखेर सुनिलबहादुर थापा जिल्ल परेका छन् ।

प्रतिक्रिया दिनुहोस्