Logo
Logo

आरोप प्रमाणित भए एकछिन पनि पदमा बस्दिनँ : अर्थमन्त्री


693
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नताको प्रमाण ल्याउन चुनौती दिएका छन् । उनले यदि कसैले आरोप प्रमाणित गरे एकछिन पनि पदमा नबस्ने बताए ।

आइतबार कांग्रेस संसदीय दलको बैठकमा अर्थमन्त्री डा. महतले पार्टीकै सांसदले आफूलाई लाञ्छित गरेको भन्दै यदि प्रतिक्रिया दिँदै जाने हो भने धेरैका बारेमा धेरै कुरा आफूले पनि भन्न सक्ने बताए । तर, आफू एउटा संस्कारमा हुर्किएको भन्दै डा. महतले भने, ‘जुन पछिल्लो घटना घट्यो पक्राउको । हुनुपर्दथ्यो, पर्दैनथ्यो टाइमिङको प्रश्न छ ।’

उनले डा. सुनिल शर्माको नाम नलिइकन भने, ‘त्यसोभए उहाँले जे राख्नुभयो, त्यो उचित हो ?’ सांसद शर्माले १० साउनको प्रतिनिधिसभा बैठक र सार्वजनिक मञ्चहरुमा सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता रहेको भन्दै राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।

त्यस सम्बन्धमा अर्थमन्त्री महतले भने, ‘यदि यो विषयमा मेरो संलग्नता छ भन्ने कुनैपनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुस् । म यहाँ पदमा बस्दिनँ ।’ उनले पार्टीभित्रबाटै लाञ्छना लागेको भन्दै मन्त्री महतले असन्तुष्टि जनाए ।

सिद्धान्त, नीतिगत विषयमा मतभेद हुनसक्ने, तर कुनैपनि बहानामा होच्याउने, लाञ्छना लगाउने यही मौका हो, सकिहालोस् भन्ने आफू र आफ्नो दाइ डा. रामशरण महतको संस्कार नभएको उनले बताए । ‘मैले यस्तो कुरा गरेर सरकारमा बस्ने कल्पना पनि गर्न सक्दिनँ साथीहरुलाई शंका लाग्छ भने भन्नुस् । साथीले पनि भनेन’ डा. महतले भने, ‘यो ठीक हो ? पार्टीमा अनुशासन छैन ? त्यसको आधार हुनुपर्दैन ?’

डा. महतले सांसद सुनिल शर्मालाई पक्राउको विषयमा भने आफूलाई थाहा नभएको बताएका छन् । उनले भने, ‘टाइमिङ र विषयवस्तु त अनुसन्धान गर्नेले जानुन् ।’

कांग्रेस सांसद डा. शर्मा नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेर रिहा हुँदै गर्दासमेत अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने दोहोर्याएका थिए । अर्थमन्त्री र गहमन्त्री नारायणकाजीले राजीनामा नदिए अनसन बस्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्