Logo
Logo

वास्तविक प्रतिवादी नभएको पाइएपछि डा यादवलाई छाडियो : सिआइबी


1.1k
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले महोत्तरीका डा रञ्जितकुमार यादव नक्कली शैक्षिक प्रमाणपत्र कीर्तेका वास्तविक प्रतिवादी नभएको पाइएपछि छाडिएको बताएको छ ।

सिआइबीले आज एक विज्ञप्ति जारी गर्दै नेपाल मेडिकल काउन्सिलबाट आएको पत्रका आधारमा डा यादव वास्तविक प्रतिवादी नभएको पाइएपछि छाडिएको बताएको हो ।

‘नेपाल मेडिकल काउन्सिल, बाँसबारीको पत्रमार्फत रञ्जितकुमार यादवको प्रमाणपत्रको प्रतिलिपि माग हुँदा यस काउन्सिलमा दर्ता भएका चिकित्सक रञ्जितकुमार यादवको दर्ता प्रमाण पत्र र आवेदन फाराम भुलबस संलग्न हुन गएको कुरा अभिलेखबाट देखिएको जानकारी गराउँदछु भन्नेसमेत बेहोराको प्राप्त पत्र र प्रमाण कागजातअनुसार हाल पक्राउ परेका डा रञ्जितकुमार यादव वास्तविक प्रतिवादी नभएको यकीन हुन आएको हुँदा निजलाई प्रस्तुत कसुरको अनुसन्धानका लागि हिरासतमा राखीराख्न आवश्यक नदेखिएकाले जिम्मा जमानीमा छाडिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

सिआइबीले डा यादवलाई लिखतसम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा यही साउन २५ गते भक्तपुरबाट पक्राउ गरेको थियो । सिआइबीले काठमाडौँ जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी स्वीकृति गरी पक्राउ मितिबाट लागू हुने गरी प्रथम पटक पाँच दिनको म्याद थप गरी हिरासतमा राखी अनुसन्धान थालेको थियो ।

यसअघि सिआइबीले नियन्त्रणमा लिएका सांसद सुनिल शर्मा पनि जिल्ला अदालतको आदेशले रिहा भइसकेका छन् । सिआइबीले नक्कली शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा अन्य छ चिकित्सकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्