Logo
Logo

तेल चोर निलम्बित


25.3k
Shares

काठमाडौं । नेपाल आयाल निगममा माथिदेखि तलसम्मको सेटिङमै तेल चोरी हुँदै आएको छ । आयल निगमभित्र तेल चोरीका घटना बेला बेलामा बाहिरिने गरेका छन् । तर, निगम उच्च व्यवस्थापनले नै चोरीमा संलग्नलाई संरक्षण गर्दै आएको छ ।

गण्डकी प्रादेशिक कार्यालय, पोखरामा इन्धन चुहावट दर बढे पनि केन्द्रले बेवास्ता गर्दा डिपो प्रमुख चित्तरञ्जन दासले खुलेआम अपचलन गर्दै आएको खुलेको छ । दासले ट्याङ्करमा नियमित बिलिङ गरेभन्दा बढी तेल हालेर पठाउने र व्यक्तिगत लाभ लिने गरेको पोखरा डिपोस्थित कर्मचारीहरू बताउँछन् । 

दासको कार्यकाल लम्बिँदै जाँदा प्रत्येक महिना इन्धन चुहावट हुने दर बढ्दै गएको थियो । कारबाही गर्नुपर्ने डिपो प्रमुख दासको संरक्षण गर्न निगम केन्द्रीय कार्यालयले जनशक्ति नै परिचालन गरेको थियो ।

दास भने गत शुक्रबार निलम्बनमा परेका छन् । तोकिएको लक्ष्यभित्रै चुहावट दर कायम भएकाले बिस्तारै गरे पनि दासबाट अपराध भएको आयल निगम स्रोतले बतायो । दासले एउटै ट्याङ्करबाट तीन हजार दुई सय लिटर डिजेल अपचलन गरेको पाइएको छ । आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले तेल चोरीमा संलग्न दासलाई कारबाही गरेपछि निगमको उच्च व्यवस्थापनमा रहेका केही कर्मचारीले असन्तुष्टि जनाएको स्रोतले बताएको छ ।

दासले बिल काटेभन्दा बढी तेल पेट्रोलपम्पहरूलाई वितरण गरेकै कारण अघिल्लो वर्षको तुलनामा गत असारको नोक्सानी दर दोब्बरले बढेको छ । असारमा पेट्रोल ०.८३ प्रतिशत र डिजेल ०.४० प्रतिशत नोक्सानी भएको थियो । यो दर तोकिएको लक्ष्य भित्रै भए पनि अस्वाभाविक चुहावट हो । डिजेल निगमको अमलेखगन्जस्थित डिपोसम्म पाइपलाइनबाट आउने र त्यहाँबाट तुलनात्मक रूपमा चिसो ठाउँ पोखरामा जाने हुँदा नोक्सानी नभई बढ्नुपर्ने हुन्छ । पेट्रोलियम पदार्थमा चिसोमा खुम्चिने र तातोमा फैलिने स्वभाव हुन्छ ।


निगमले डिपोमा भएको इन्धन अपचलनबारे अध्ययन गर्न आयल निगमका उपनिर्देशक नकुल भण्डारी, प्रबन्धक पुष्कर कार्कीसहितको छानबिन समिति बनेको छ । 


निगमको केन्द्रीय कार्यालयस्थित आपूर्ति तथा वितरण विभागले सबै डिपोमा इन्धन चुहावटको लक्ष्य निर्धारण गर्ने गरेको छ । भण्डारण वा ढुवानीका क्रममा तापक्रम वा अन्य कारणले इन्धन चुहावट हुने विश्वव्यापी मान्यताका कारण निगमले पनि देशभरका डिपोलाई निश्चित प्रतिशतले इन्धन नोक्सानी हुने लक्ष्य किटान गरेको हुन्छ । पोखरा डिपोका लागि आयल निगमले पेट्रोलमा ०.८५ प्रतिशत र डिजेलमा ०.५० प्रतिशत नोक्सानी लक्ष्य निर्धारण गरेको छ ।

पोखरा तुलनात्मक रूपमा चिसो ठाउँ भएकाले विगतका वर्षमा लक्ष्यभन्दा करिब आधा मात्रै इन्धन नोक्सानी हुने गरेको थियो । आव ०७८/७९ को असारमा पोखरा डिपोको नोक्सानी दर पेट्रोलमा ०.६५ प्रतिशत र डिजेलमा ०.१९ प्रतिशतमा सीमित थियो । तर, गत असोजमा निगम व्यवस्थापन र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारीलाई रिझाएर दास पोखरा डिपो पुगेपछि नोक्सानी हुने इन्धनको दर बढ्दै गएको स्रोतले बताएको छ ।

सिनामंगल डिपोमा समेत चुहावट दर बढ्दै गएको एक कर्मचारीले बताए । बदनाम डिपो प्रमुखहरूलाई फिर्ता बोलाएर नयाँ प्रमुख पठाउने कार्यमा उच्च व्यवस्थापनमै रहेका केही कर्मचारीले अवरोध सिर्जना गरेको स्रोतले बतायो ।

स्रोतले भन्यो, ‘उच्च व्यवस्थापनमा रहेका ‘स्वार्थी कर्मचारी’का कारण निगममा अपचलन बढेको छ ।’ कार्यकारी निर्देशक थानीले भने नियमअनुसार सबै कुरा हुने बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्