Logo
Logo

नेपाली सेनाद्वारा विद्यार्थीलाई ‘एनसिसी’ तालिम



काभ्रेपलाञ्चोक । काभ्रेमा नेपाली सेनाले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सुरु गरेको छ । धुलिखेलस्थित नेपाली सेनाको कालिजङ्ग गणले हाल जिल्लाका सात विद्यालयमा उक्त तालिम सञ्चालन गरिरहेको हो ।

जुनियर डिभिजन तालिम साउन १ गतदेखि सञ्चालन गरिरहको छ भने सिनियर डिभिजनको तालिम आउँदो भदौ १ गतेबाट सुरु गर्ने तयारी भइरहेको गणले जनाएको छ । हाल जिल्लाका पाँच विद्यालयमा जुनियर र अन्य दुई विद्यालयमा सिनियर डिभिजनको तालिम उपलब्ध गराइरहेको गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले जानकारी दिए । उनका अनुसार सिनियर तालिमका लागि विद्यालय तथा विद्यार्थी छनोट गरी आवश्यक प्रक्रिया सुरु गरिएको छ ।

एक सय दिनको एनसिसी तालिमअन्तर्गत ७९ दिन विद्यालयमै सञ्चालन हुनेछ भने बाँकी २१ दिनको तालिम ‘क्लोज क्याम्प’का रूपमा हुनेछ । तालिममा विद्यार्थीलाई राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जफादेहिता, इमान्दारिता र बफादारिताका बारेमा प्रशिक्षित गरिने उनले बताए । ‘यसका अलावा सैन्यलगायत मानवीय र सामाजिक सेवाका बारेमा विद्यार्थीलाई तालिम दिइन्छ’, उनले् भने । उनका अनुसार विषद् व्यवस्थापन, सरसफाइ तथा वातावरणलगायतका विषयमा समेत जानकारी गराइन्छ ।

काभ्रेपमा वार्षिक दुई सय ५२ विद्यार्थीलाई यस्तो तालिममा सहभागी गराइन्छ । जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्म तथा सिनियर डिभिजनका लागि कक्षा ११ र १२ का विद्यार्थी सहभागी गराइने छ । तालिममा छनोट विद्यालयबाट १८ छात्र र १८ छात्रा प्रतिडिभिजनमा सहभागी हुन्छन् ।

गणले हाल पनौती नगरका एसओएस बालग्राम, डिभाइन लाइट स्कुल र पुण्य माध्यमिक विद्यालय, धुलिखेलको सञ्जिवनी मावि, बनेपाको आर्दश विद्या मन्दिर र बेलर स्कुल तथा सामुदायिक विद्यालयमा जुनियर डिभिजनको तालिम सञ्चालन गरेको हो भने आर्दश विद्या मन्दिर र बेलरमा सिनियर डिभिजन तालिमको तयारी भइरहेको जनाइएको छ ।

तालिमपश्चात विद्यार्थीमा अनुशासित, बफादारिता तथा इमानदारिता, राष्ट्रिय एकताको भावना, नेतृत्व क्षमताको विकासका लागि थप सहज हुने जनाइएको छ । यस्तै विद्यार्थीले तालिमका अवसरमा एरोविक्स, तेक्वान्दो, आइकिदो, विपद् व्यवस्थापनमा उद्धार गर्न स्वयंसेवी भूमिका तथा अन्य साहसिक तालिम पाउनेछन् ।

तालिममा प्रथम भएको विद्यालयका विद्यार्थीलाई विभिन्न मुलुक पठाउने गरिएको छ । यसअघि जिल्लाको बेलर स्कुका विद्यार्थीलाई श्रीलङ्कामा यस्तै कार्यक्रममा सहभागी गराइएको थियो । नेपाली सेनाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिम विसं २०२२ कात्तिक ७ गतेबाट सुरु गरे पनि केही वर्ष सञ्चालनमा आएको बताइन्छ । आर्थिक वर्ष २०७२/७३ बाट पुनः सुरु गरेको तालिमअन्तर्गत काभ्रेपलाञ्चोकमा आव २०७१/७२ बाट सुरु गरिएको हो ।

नेपाली सेनाले हाल देशका ७७ वटै जिल्लामा यससम्बन्धी तालिम विस्तार गर्दै वार्षिक सात हजार सात सय विद्यार्थीलाई तालिम उपलब्ध गराउँदै आएको छ । सरकारमार्फत सेनाले सात मित्रराष्ट्रसँग युवा विद्यार्थीको अनुभव आदान–प्रदान कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्