काठमाडौ । नागरिक उड्ययन प्राधिकरणले दुर्गम जिल्लाका विमानस्थलमा अतिरिक्त समयमा उडान अवतरण गर्न पाउने निर्णय गरेको छ । यसअघि प्राधिकरणले सेप्टेम्बरसम्म विमानस्थल सञ्चालन अवधिमा मात्रै उडान गर्न पाउने निर्णय गरेको थियो । तर, उक्त निर्णय सच्याउँदै अतिरिक्त समयमा पनि उडान अवतरण गर्न पाउने जनाएको हो ।

बिहीबार प्राधिकरणले सर्तसहित उडान गर्न दिने निर्णय गरेको छ । पहाडी क्षेत्रमा अवस्थित स्टोल विमानस्थलमा हुने उडान सञ्चालनलाई थप सुरक्षित तथा व्यवस्थित गरी जनताको हवाई यातायातमा पहुँच वृद्धि गर्नेगरी निर्णय गरेको जनाएको छ ।
अतिरिक्त समयमा उडान गर्नुपुर्व गन्तव्य, हवाइमार्ग र वैकल्पिक विमानस्थलमा भएको भिएमसी मिनिमा कायम भएको सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणापश्चात मात्र उडान अनुमति प्रदान गरिने प्राधिकरणद्वारा जारी विञप्तिमा उल्लेख छ ।
साथै, नेपालगञ्ज विमानस्थलबाट स्टोल विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले विमानस्थलमा अनिवार्य फ्लाई अपरेसन अफिसरको व्यवस्था गर्नुपर्ने तथा उडान सञ्चालन सम्बन्धि सम्पूर्ण कार्य अफिसरमार्फत गर्नुपर्ने व्यवस्था गरेको छ ।
पहाडी क्षेत्रका विमानस्थलका साथै सम्पूर्ण स्टोल विमानस्थलहरुको सञ्चालन समय पुनरावलोकन गर्ने तथा इनरुट वेदरको उपलब्धताबारे अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशकको संयोजकत्वमा एक उच्चस्तरिय समिति गठन गर्ने निर्णय गरेको छ ।















