Logo
Logo

आरजु राणाको चिन्ता- बाँदर कसैले खाँदैन, के गर्ने होला ?


2.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले बाँदरको संख्या बढेकोमा चिन्ता व्यक्त गरेकी छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो चिन्ता व्यक्त गरेकी हुन् ।

नेपालले विदेशमा अनुसन्धानका लागि बाँदर निर्यात गर्दा आफू पनि त्यसको विरोधमा लागेको बताउँदै उनले अहिले भयावह अवस्था भएको बताइन् । अहिले बाँदरको संख्या बढेर कहालीलाग्दो अवस्था रहेको बताउँदै राणाले बाँदर नियन्त्रणका लागि के गर्ने भन्नेबारे अध्ययन गर्नुपर्ने बताइन् ।

‘अरु देशको कुनै मोडेल छ कि ? हाम्रो यति धेरै ठाउँमा जाली लगाएर कसरी खेती गर्ने ? त्यस्तो हाम्रो स्रोत साधन पनि छैन’ नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी राणाले भनिन्, ‘यो इश्युलाई कलिङ गर्न सक्ने भए कलिङ गर्ने, हाम्रो धर्म संस्कृतिले दिएअनुसार कलिङ गर्ने, बाँदर त कसैले पनि खाँदैन, सो ह्वाट टु डु इट बाँदर ?’

साथै, बाँदर नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउन कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव दीपक कुमार खनाललाई आग्रहसमेत गरिन् । बैठकमा सांसदहरुले बाँदरको समस्याका कारण कृषकले दुःख पाएको, कृषि उत्पादन घटेको बताउँदै कृषि मन्त्रालयका सचिव खनालसहितका पदाधिकारीहरुको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा सचिव खनालले झन्डै २५ प्रतिशत खेतीयोग्य जमिनमा बाँदरको प्रकोपका कारण खेती हुन छाडेको मन्त्रालयको अनुमान रहेको बताउँदै बाँदर नियन्त्रणका लागि प्रभावकारी विकल्प के हुन सक्छ सरकारले काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्