Logo
Logo

१ करोडभन्दा माथिको भ्याट कारोबार विवरण मासिक बुझाउनुपर्ने



काठमाडौं । अब मूल्य अभिवृद्धि कर (भ्याट) मासिक रुपमा भुक्तानी गर्नुपर्ने भएको छ । आन्तरिक राजश्व विभागले शुक्रबार एक सूचना जारी गर्दै वार्षिक १ करोड रुपैयाँभन्दा माथिको भ्याटको कारोबार विवरण अब मासिक रुपमा बुझाउनुपर्ने जनाएको हो ।

‘मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २६ मा संशोधन भई साविकमा रहेको ईंटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले चाहेमा विवरण पेश गर्ने अवधि चौमासिक कायम गर्न सक्नेछ भन्ने व्यवस्था खारेज भएको छ’, विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘संशोधित व्यवस्था अनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएका वार्षिक एक करोड रुपयाँ भन्दा बढीको कारोवार भएका ईंटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले २०८० साउनदेखि मासिक रुपमा मूल्य अभिवृद्धि करको विवरण दाखिला गर्नुपर्नेछ ।’

यस्तै, विभागले हाल द्वैमासिक अवधिमा मूल्य अभिवृद्धि कर विवरण दाखिला गर्ने सुविधा नरहेकोले वार्षिक एक करोड रुपयाँ भन्दा बढीको कारोवार भएका करदाताले मासिक रुपमा नै विवरण दाखिला गर्नुपर्ने स्पष्ट पारेको छ ।

साना करदातालाई सहुलियत
विभागले एक करोड रूपैयाँभन्दा कम कारोबार गर्ने साना करदातालाइ सहुलियत दिएको छ । यसअघि मासिक रूपमा विवरण दाखिला गर्दै आएका साना करदाताले अब चौमासिक रुपमा विवरण पेशको समय पाएका छन् ।

विभागले उक्त कारोबार भएका व्यवसायीहरुलाई कर सहभागिता लगात र समय दुबै घटाएर सहुलियत दिईएको समेत जनाएको छ ।

उक्त करदाताले अब साउनदेखि कात्तिकसम्मको कर विवरण मंसिर २५ गतेभित्र बुझाउन सक्नेछन् । यसअघि उक्त करदाताले समेत मासिक रुपमा कर विवरण दाखिला गर्दै आएका थिए ।

वार्षिक एक करोडसम्म र सो भन्दा बढीका करदाताले मासिक कर विवरण दाखिला गर्न चाहेमा सम्बन्धित आन्तरिक राजस्व कार्यालयरकरदता सेवा कार्याल्यमा १५ दिनभित्रै जानकारी गराउनसमेत विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्