
काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्को अवरोध खुलाउन सत्ता पक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूसँग आइतबार छलफल गरेका छन् । साउन २ गते विमानस्थल बाहिर बरामद भएको सुन प्रकरणलाई लिएर उच्चस्तरीय समिति मागसहित एमालेले संसद्मा अवरोध गरिरहेका बेला सभामुख घिमिरेले दलका सचेतकहरुसँग छलफल गरेका हुन् ।
छलफलबाट बाहिरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले भने संसद्को अवरोध तत्काल खुल्ने छाँट नदेखिएको बताएका छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकबाट बाहिरिने क्रममा रास्वपाका प्रमुख सचेतक परियारले संसद् खुल्ने आशाका साथ प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा जान लागेको बताए । प्रधानमन्त्री प्रचण्डले संसदको अवरोध हटाउनेबार छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त दलहरुलाई छलफलमा बोएका छन् ।
सभामुखले बोलाएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, कांग्रेसका मुख्य सचेतक रमेश लेखक, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, राप्रपाका सचेतकलगायतको उपस्थिति थियो ।














