Logo
Logo

सेयर धितोमा प्रवाह हुने कर्जा ५.२ प्रतिशतले घट्यो



काठमाडौं । गत आर्थिक वर्षमा सेयर धितोमा प्रवाह हुने कर्जामा ५. प्रतिशतको गिरावट आएको छ । आर्थिक वर्ष २०७९/०८० को असार मसात्तसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने कर्जा ५.२ प्रतिशतले घटेको हो ।

एक वर्षको अवधिमा सेयर धितोमा जाने कर्जा ५.२ प्रतिशतले घटेर ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ । गत असारमा बैंक तथा वित्तीय संस्थाबाट ८० अर्ब ५० करोड ७८ लाख रुपैयाँ सेयर धितोमा कर्जा गएको थियो । राष्ट्र बैंककाअनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा ५० लाखदेखि १ करोड रुपैयाँसम्म कर्जा प्रवाह बढेको छ ।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने ५० लाखदेखि १ करोडसम्मको कर्जा ११.५ प्रतिशतले बढेर ११ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ पुगेको छ । गत असारमा १० अर्ब ५६ करोड रुपैयाँ रहेको थियो । राष्ट्र बैंककाअनुसार १ करोड भन्दा माथिको २५ लाखदेखि ५० लाख र २५ लाखभन्दा कमको सेयर धितोमा जाने कर्जा घटेको छ ।

राष्ट्र बैंककाअनुसार १ करोडभन्दा माथिको सेयर धितोमा जाने कर्जा ४ प्रतिशतले घटेको छ । गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट ४४ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यो असार मसान्तमा घटेर ४४ अर्ब ७१ करोड ६१ लाख रहेको छ । यस्तै, २५ देखि ५० लाख रुपैयाँसम्म धितोमा जाने कर्जा पनि घटेको छ ।

गत असार मसान्तसम्म १५ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह भएकामा यो असार मसान्तसम्म आइपुग्दा १५.९ प्रतिशतले घटेर १२ अर्ब ७८ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ । राष्ट्र बैंकका अनुसार २५ लाखभन्दा कम धितोमा जाने कर्जा असार मसान्तसम्म १३.९ प्रतिशतले घटेर ७ अर्ब ३ करोड ५९ लाख रुपैयाँमा सिमित भएको छ । गत असार मसान्तमा ८ अर्ब १७ करोड १४ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

गत आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितोमा प्रवाह हुने कर्जा सीमाको जोखिम भारमा गरेको व्यवस्थाको असर सेयर धितो कर्जामा परेको गुनासो लगानीकर्ताको छ । राष्ट्र बैंकले सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाखसम्म कर्जाको हकमा शत प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्