काठमाडौं, २१ पुस ।
अमेरिका र इरानबीच बढेको तनावको असर नेपालसम्म देखिएको छ । नेपालमा समेत अमेरिकी दूतावासमा सुरक्षा सतर्कता बढाइएको छ ।
अमेरिकी आक्रमणमा शुक्रबार इरानी सेनाको विशेष दस्ता क्विड फोर्सका उच्च सैनिक कमान्डर कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको थियो । इराकीस्थित अमेरिकी दूतावासमा नजिक रकेट आक्रमण भएको थियो । अन्य देशस्थित आफ्ना दूतावासहरुलाई समेत सतर्क रहन भनिएको छ ।

त्यहीअनुसार दूतावास आसपास सुरक्षामा थप कडाई गरिएको उच्च प्रहरी स्रोत बताउँछ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले यसबारे अनौपचारिक रुपमा नेपालका सुरक्षा अधिकारीहरुसँग कुरा गरिसकेका छन् । ‘नेपाल मात्र होइन सबै देशका आफ्ना दूतावासहरुमा उनीहरुले सतर्कता बढाएका छन्,’ एक उच्च प्रहरी अधिकारीले भने,‘त्यहीअनुसार प्रहरी परिचालन बढाइएको छ ।’
सो घटनाको बदलामा कुनै पनि देशमा आतंकवादी समूहले अमेरिकाविरुद्ध गतिविधि गर्न सक्ने आँकलनका आधारमा पूर्व सतर्कता अपनाइएको हो । केन्यास्थित अमेरिकी दुतावासमा सोही घटनाको बदलामा एक आतंकवादी समूहले आक्रमणको प्रयास गरेको थियो ।
अमेरिकी दूतावासको सुरक्षामा सशस्त्र प्रहरीबाट इन्सपेक्टरको कमाण्डमा पहिलेदेखि नै एक प्रहरी टोली खटिदै आएको छ । त्यसका साथ नेपाल प्रहरीले पनि दुतावास आसपास गस्ती बढाएको छ ।
अमेरिकाले गत महिनामात्र प्रकाशित रिपोर्टमा नेपाल आतंकवादको जोखिममा रहेको उल्लेख गरिएको थियो । यद्यपी नेपालमा कुनै पनि अन्तर्राष्ट्रिय आतंकवादी समूहको गतिविधि देखिएको छैन । भारतसँगको खुला सीमानाका कारण यस्तो जोखिम औंल्याइएको हो । भारतमा धेरै वटा अन्तर्राष्ट्रिय आतंकवादी समूहहरु सक्रिय छन् ।
यो तनावबाट नेपाल आर्थिक रुपले समेत प्रभावीत हुन सक्छ । इरानले इन्धनको मूल्य बढाउने सम्भावना छ । त्यो अवस्थामा नेपालमा समेत इन्धनको मूल्य बढ्नेछ । साथै इराकमा ठूला संख्यामा नेपालीहरु भएकाले उनीहरु समेत जोखिममा परेका छन् ।












