
काठमाडौं । संसदीय सुनुवाइ समितिले आज प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसँग छलफल गर्दैछ ।
प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सवैधानिक परिषद्बाट सिफारिस भई आएका श्रेष्ठविरुद्ध परेको उजुरीमाथि १० बजेबाट छलफल गर्ने र लगत्तै ११ बजेदेखि उनीसँग पनि छलफल गर्ने भएको हो ।
उक्त पदमा उनलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र उजुरी दिन समितिले गत साउन २४ गते सार्वजनिक उजुरी आह्वान गरेको थियो । जसमा तीन वटा मात्र उजुरी परेको छ ।
इमेलबाट दुई वटा र पत्रमार्फत एउटा उजुरी परेका छन् । तर इमेलबाट उजुरी गर्नेहरु सम्पर्कमा नआएकाले एक जना उजुरीकर्तासँग मात्र छलफल गर्ने समितिको तयारी छ ।
आज बस्ने बैठकको सुरुमै उजुरीकर्तासँग जानकारी लिएपछि प्रस्तावित प्रधानन्यायाधीशको ससदीय सुनुवाइ प्रारम्भ हुनेछ । यसअघि बैठकमा परेका उजुरीबारे जानकारी दिन सदस्यहरुलाई त्यससम्बन्धी कागजात वितरण गरिएको थियो ।
संसदीय सुनुवाइका क्रममा श्रेष्ठले आफ्नो योग्यता, अनुभव, कार्ययोजना र अवधारणा प्रस्तुत गर्नेछन् । संसदीय समितिले सबै विषय वस्तुबारे जानकारी लिएपछि उनको नाम अनुमोदन गर्ने वा नगर्ने भनी निर्णय गर्नेछ ।














