
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास बालुवाटारको सरकारी जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरेको छ ।
सीआईबीले अनुसन्धान प्रतिवेदन आइतबार सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको थियो । तर आइतबार तयारी पुरा नभएका कारण बुझाउन नसकेकाले आज (सोमबार) बुझाउन लागेको हो । सरकारी वकिलको कार्यालयले अनुसन्धान प्रतिवेदन शुक्रबार नै पेस गर्न ताकेता गरेको थियो । तर, सीआईबीले प्रतिवेदन लेखनको काम भइरहेको भन्दै शुक्रबार प्रतिवेदन पेस गरेको थिएन ।
सरकारी जग्गा व्यक्तिको बनाउँदा सरकारी कागजात तथा दस्तखत किर्ते भएको प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ । संगठित रुपमा नै किर्ते भएको कसुरमा सीआईबीले अनुसन्धान गरेको हो। किर्ते र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न ६० दिनको समय हुन्छ। यो अवधि सकिनै लाग्दा सीआईबीले अनुसन्धान प्रक्रिया टुंग्याएर प्रतिवेदन लेखन पनि लगभग सकेको छ ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउँदा भएको किर्तेको अनुसन्धान सुरु गरेर सीआईबीले असार १२ गते पहिलोपटक आरोपीहरु पक्राउ गरेको थियो । सोही दिनदेखि अनुसन्धान सुरु गरेको मिति मानिने हुँदा अब भदौ ९ गतेभित्र अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्छ ।
त्यो भन्दा अघि सरकारी वकिल कार्यालयले पनि फाइल अध्ययन गर्नुपर्ने भएकाले सीआईबीले आज प्रतिवेदन बुझाउने तयारी गरेको हो । यसै प्रकरणमा हाल १८ जना सीआईबीको हिरासतमा रहेका छन् ।














