
काठमाडौं । कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभाको आजको बैठक अनिश्चित भएको छ ।
उपसभामुख सिर्जना दनुवार आज (सोमबार) बिरामी विदा लिएर बिहान काठमाडौं उडेपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्ने नबस्ने अनिश्चित भएको हो ।
कोशीमा मुख्यमन्त्री थापाका पक्षमा बहुमत पुर्याउन सत्ता गठबन्धनका दलले यसअघि नै सभामुखलाई राजीनामा दिन लगाएका छन् । सभामुखले राजीनामा दिएपछि उपसभामुख दनुवारले सभामुखको जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ ।
दनुवारले बैठक चलाउँदा थापाका पक्षमा विश्वासको मत सजिलै पुग्ने भएकाले उनी सोमबार बिहान काठमाडौं उडेकी हुन् ।
उनले बैठक चलाउने जिम्मेवारी कांग्रेसका सांसद इस्राइल मन्सुरीलाई दिएकी छन् । मन्सुरीले बैठक चलाउँदा थापाका पक्षमा बहुमत पुग्दैन । सत्ता गठबन्धनका नेताहरूले भने आजको बैठक नै नबस्ने बताएका छन् ।
मुख्यमन्त्री थापाले भदौ १३ गतेसम्म प्रदेश सभाबाट विश्वासको मत लिइसक्नु पर्नेछ।














