
काठमाडौं । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले उद्धव थापालाई मुख्यमन्त्रीको मान्यता नदिन प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको छ ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभा सञ्चालन गरेका इस्राइल मन्सुरीले समेत विश्वासको मत दिएकाले संविधान विपरीत भएको भन्दै मान्यता नदिन एमालेले प्रदेशप्रमुख परशुराम खापुङसमक्ष अनुरोध गरेको हो ।
एमालेले प्रदेश प्रमुख खापुङलाई बुझाएको ध्यानाकर्षपत्रमा संविधानको धारा १८६ का विपरीत मत विभाजनका लागि हस्ताक्षर गर्ने कार्य समाप्त भए पश्चात् र मत सच्याउन दिने ३ मिनेटको घण्टी बज्ने समय समेत समाप्त भए पछि मन्सुरीले विश्वासको मत दिन हस्ताक्षर गरेको उल्लेख छ ।
‘सभाको अध्यक्षता गरी रहेका इस्राईल मन्सुरीले आफ्नो कुर्सी बाट उठी मत विभाजनका लागि राखिएको कागजमा जबरजस्ती हस्ताक्षर गरी संविधान र कानुनको ठाडो उल्लङ्घन गरेको ब्यहोरा जानकारी गराउन चाहन्छाैं,’ पत्रमा भनिएको छ ।
सभाको अध्यक्षता गरेको व्यक्तिले मत दिन पाउँदैनन् । मत बराबर भएको अवस्थामा मात्र निर्णायक मत दिन पाउने व्यवस्था छ । तर, विपरीत पक्षमा ४६ र विपक्षमा ३० मत भएको अवस्थामा अध्यक्षता गरेका इस्राईल मन्सुरीले गीता तिम्सिनालाई सभाको अध्यक्षता गर्न लगाउँदै आसनबाट झरेर मुख्यमन्त्रीलाई विश्वासको पक्षमा हस्ताक्षर गरेका थिए ।
प्रदेश प्रमुखलाई बुझाएको ध्यानाकर्षण पत्रमा यसरी जबरजस्ती ४७ सङ्ख्या पु¥याई तथाकथित बहुमत देखाउन गरेको कार्य संविधान, प्रचलित कानुन र संसदीय मूल्य मान्यता समेतको ठाडो उल्लङ्घन गरी जबरजस्ती बहुमत देखाउने कार्य लाई कुनै पनि हिसाबले मान्यता नदिन आग्रह तथा अनुरोध गरिएको छ ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन उप सभामुख बिरामी भएपछि अध्यक्ष मण्डलका सदस्यको हिसाबले मन्सुरीले सभाको अध्यक्षता गरेका थिए ।














