Logo
Logo

कोशी सरकारविरुद्ध एमाले फेरि सर्वोच्च जाँदै


1k
Shares

मोरङ । कोशी प्रदेश सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आज सर्वोच्च अदालत जाने भएका छन् । मुख्यमन्त्री उद्धव थापाले संविधान र कानुनविपरीत सभाध्यक्षको भोटले प्रदेशसभामा विश्वासको मत लिएको भन्दै एमाले सर्वोच्च जान लागेका हुन् ।

गत सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभामुखको हैसियतमा रहेका कांग्रेसका सांसद इस्राइल मन्सुरीले मतदान गरेका थिए ।

तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षरले बहुमत पुर्‍याएर असार २१ गते कांग्रेस नेता थापालाई मुख्यमन्त्री नियुक्त गरेको विरोधमा एमाले नेता हिक्मतकुमार कार्कीले असार २२ मा दायर रिटमाथि सर्वोच्चको पूर्ण इजलासले सभामुख गौतमको हस्ताक्षर असंवैधानिक ठहर गर्दै मुख्यमन्त्रीको नियुक्ति रद्द गरेको थियो ।

आदेशमा सभामुख वा सभाध्यक्षको भूमिका रेफ्री वा अम्पायर प्रकृतिको भएको व्याख्या गरिएको छ । सर्वोच्चले एक पटक व्याख्या गरिसकेर नजिर बसिसकेकाले मुख्यमन्त्री थापाको विश्वासको मत असंवैधानिक हुने एमालेको भनाइ छ ।

उपसभामुख सिर्जना दनुवारले आफू बिरामी भएको र उपचारका लागि बाहिर जानुपर्ने भएको भन्दै अध्यक्ष मण्डलका सदस्य कांग्रेसका इस्राइल मन्सुरीलाई प्रदेशसभा बैठकको अध्यक्षता गर्न पत्र बुझाएर विदामा बसेकी थिइन् । उक्त पत्रका आधारमा मन्सुरीले मुख्यमन्त्री थापाले विश्वासको मत लिने सभामा अध्यक्षता गरेका थिए ।

तर मतदान सकिएर मत सच्याउन दिएको समयसमेत समाप्त भएपछि अध्यक्षको आसनमा अध्यक्षमण्डलकी अर्की सदस्य माओवादीकी गीता तिम्सिनालाई बसाएर मन्सुरीले विश्वासको मतको पक्षमा मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्