
काठमाडौं । केहि दिनदेखि काठमाडौंलगायत विभिन्न भू–भागमा लगातार वर्षा भइरहेको छ । आज पनि देशका केही प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।
आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी, वाग्मती, मधेस र कोसी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भारी वर्षाको समेत सम्भावना रहेका क्षेत्रका नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयको सम्भावना रहेको महाशाखाको भनाइ छ । जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।














