
काठमाडौं । संघीय संसद्का १२ वटा समितिको सभापतिका लागि भदौ ११ मा निर्वाचन हुने भएको छ । प्रतिनिधिसभाका १० र राष्ट्रियसभाका दुई गरि १२ समिति सभापतिका लागि यहि भदौ ११ गते दिउँसो ३ बजे निर्वाचन हुने भएको हो ।
त्यसका लागि भदौ १० गते बिहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारीको प्रस्ताव गर्ने कार्यक्रम छ । सोही दिन ४ः३० मा दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसार सूची प्रकाशन गरिनेछ ।
११ गते दिउँसो ३ बजे सम्बन्धित समितिको सभा कक्षमा उम्मेदवारका प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले समर्थन गर्ने र उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । प्रमुख दलहरुले साउन अन्तिम साता नै कुन समितिको सभापति कसले पाउने भनेर भागबण्डा टुंग्याइसकेका छन् ।
त्यसैले कुन समितिको सभापति कुन दलले पाउने भन्ने निश्चितप्रायः छ । तर ती दलबाट समितिको नेतृत्व कसले गर्ने भन्ने विषयमा भने दलहरुले आन्तरिक टुंगो लगाइसकेका छैनन् । यता संसदमा प्रतिनिधित्व गर्ने जसपा, एकीकृत समाजवादी, जनमतबाट भने निर्विकल्प सभापति बन्ने सम्भावना देखिन्छ । सहमति अनुसार ती दलले एक–एक समिति पाएका छन् ।
जसअन्तर्गत जसपाले अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति पार्टीले पाएको छ । उक्त समितिमा एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष महत्व ठाकुर र नेपाली कांग्रेसका सांसद शेखर कोइराला र विमलेन्द्र निधि समेत सदस्य छन् ।
जसपाबाट उक्त पार्टी अनुभवी सांसद राजकिशोर यादव सदस्य रहेकाले सभापति उनले नै पाउने लगभग तय देखिन्छ । त्यस्तै उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समिति जनमत पार्टीले पाएको छ । जनमतका तर्फबाट उक्त समितिमा सोन मुर्मु सदस्य छिन् । स्वतः उनले समितिको नेतृत्व गर्नेछिन् ।
एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति पाएको छ । उक्त समितिमा समाजवादीका तर्फबाट भानुभक्त जोशी सदस्य छन् । समितिमा सभापतित्व गर्ने एक्ला सांसद भएकाले उनी पनि निर्विकल्प सभापति बन्ने सम्भावना देखिन्छ ।














