Logo
Logo

राष्ट्रपति बन्न इच्छुक थिइनँ : अध्यक्ष नेपाल


1.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वदलीय बैठकमा आफ्नो पार्टीलाई निषेध गरेको बताएका छन् । पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई शनिबार समबोधन गर्दै अध्यक्ष नेपालले संसद खुलाउने विषयमा छलफल गर्न बोलाइएको दलहरुको बैठकमा ओलीकै कारण आफ्नो पार्टी सहभागी नभएको बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भने, ‘ओलीले यो पार्टीको मतलब नै नराख्ने । हुँदाहुँदा हिजोअस्ति संसदमा अरु सबै पार्टी हुन्छ । तर, एकीकृत समाजवादी पार्टी हुँदैन भनेर हामीलाई प्रस्तुत हुन दिएनन् । त्यो सुनकाण्डको बारेमा भएको छानबिन कमिटीमा अरु सबै बसे ६ वटा पार्टी, राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने एउटा आधारमा टेकेर हामीलाई बोलाएनन् ।’

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेर एमालेले संसद अवरोध गरेपपछि त्यस विषयमा छलफल गर्न प्रधानमन्त्रीले राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलको बैठक बोलाएका थिए ।उनले भने, ‘केपी ओलीलाई जब राष्ट्रपति पद पाउनका लागि मतलब थियो, मसँग भेट्न खोजे । तर मलाई प्रस्ताव राखेनन् । अहिले के भन्छन्– मैले प्रस्ताव राखेको थिएँ । तर उनले राखेकै थिएनन् । प्रस्ताव राखेर पनि म मान्थे वा मान्दिन थिएँ । त्यो आफ्नो ठाउँमा छ ।’

अध्यक्ष नेपालले बरु आफूलाई प्रचण्डले भने राष्ट्रपतिको प्रस्ताव गरेको भएपनि अस्वीकार बताए । ‘प्रचण्डजीले सबै बैठकमा मेरो नाम प्रस्ताव गरेकै हो राष्ट्रपतिमा’ अध्यक्ष नेपालले भने, ‘तर, त्यो बेलामा कांग्रेसले के भन्यो भने सभामुख पाउने एमाले, राष्ट्रिय सभाको अध्यक्ष हुने एमाले, उपसभामुख पाउने राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय सभाको उपाध्यक्ष हुने माओवादी अनि कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको बेलामा केही पनि नपाउने भनेर ? त्यसमा पनि रामचन्द्रजीलाई कि राष्ट्रपति कि प्रधानमन्त्री हुनुपर्ने ।’

अध्यक्ष नेपालले पार्टीलाई त्यसै छाडेर राष्ट्रपति हुँदा आलोचना हुने भएकाले आफूले राष्ट्रपति हुने इच्छा नगरेको बताए । उनले भने, ‘म राष्ट्रपतिमा इच्छुक थिइन । किनभने बिद्रोह गरेर पार्टी बनाइएको छ । म राष्ट्रपतिमा गएँ भने हामीलाई ल्याएर बाटोमै छोडिदिनुभयो भनेर आलोचना आउँछ भनेर मैले इच्छा व्यक्त गरिनँ ।’

प्रतिक्रिया दिनुहोस्