Logo
Logo

बीमितको हित रक्षा हुनेगरी कर्तव्य निर्वाह गर्न बीमा कम्पनीहरुलाई निर्देशन


819
Shares

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमितको हित रक्षा हुनेगरी विधिपूर्वक कर्तव्य निर्वाह जीवन बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूलाई निर्देशन दिएका छन् ।

नेपाल बीमा प्राधिकरणबाट जीवनबीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूसँग शुक्रबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले बीमा व्यवसायलाई विस्तार गर्न र बीमा गरेपछि दाबी भुक्तानी पाइन्छ भन्नेमा बीमितहरू ढुक्क हुने वातावरण बनाउन कम्पनीहरूलाई निर्देशन दिएका हुन् ।

अध्यक्ष सिलवालले यो वर्ष सुधारको वर्ष भएकाले समस्याहरु आउन नदिन विगतका समस्याहरू दोहोरिन नदिन र संख्यात्मकभन्दा गुणात्मक पक्षलाई ध्यान दिई कार्य गर्न निर्देशन दिए ।

अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीका संचालक समितिहरूले कम्पनीमा नीति, विधि र रणनीतिको पालनामा के भइरहेको छ भन्नेमा नियमितरुपमा जानकारी राख्नुपर्छ, व्यवस्थापनसँग निरन्तर संवाद गर्नुपर्छ, व्यवस्थापनबाट कमी कमजोरी भएको छ छैन भन्ने हेर्नुपर्छ, व्यवस्थापनबाट तोकिएको जिम्मेवारी पूरा भएको छ छैन भन्ने बारेमा जानकारी राख्नुपर्छ ।’

प्राधिकरणले जारी गरेको लगानी निर्देशिका बमोजिम तोकिएको अवधिभित्र लगानी विविधीकरण गर्न पुनः निर्देशन दिँदै अध्यक्ष सिलवालले भने, ‘प्राधिकरणले जोखिम कम गर्न लगानी विविधीकरण गर्न भनेको हो, बजारमा लगानी गर्ने अन्य संस्थाले मुनाफा प्राप्त गर्ने तर बीमा कम्पनीको लगानीबाट मुनाफा नपाउने भन्ने हुँदैन, बीमा कम्पनीहरूले बजारको अध्ययन विश्लेषण गरी विभिन्न क्षेत्रमा लगानी गर्नुपर्छ, लगानीकर्ताहरूलाई मुनाफा दिन र कम्पनीमा लगानी टिकाइराख्न पनि राम्रो प्रतिफल प्राप्त हुनेगरी कम्पनीहरूले लगानी विविधीकरण गर्नुपर्छ ।’

कतिपय बीमा कम्पनीहरूमा मर्जरपछि पनि समस्याहरू देखिएको उल्लेख गर्दैै सिलवालले कम्पनीहरूलाई फराकिलो हुन र कर्मचारीसँग सम्बन्धित लगायतका समस्याहरू आफैँ समाधान गर्न सुझाव दिए ।

अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीहरूले बैंक र बीमाबीचको फरक बुझाउन सक्नुपर्छ, बैंकले बचत गर्छ तर बीमाले जोखिम समेत बहन गर्छ भन्ने कुरा सबैलाई बुझाउन सक्नुर्छ, बैंक मार्फत बीमा गराउने कम्पनीले बैंकले गर्ने विज्ञापनमा अनिवार्यरुपमा आफ्नो नाम राख्न लगाउनुपर्छ, कम्पनीहरूको सुशासनमा देखिएका कमजोरी हटाउनुपर्छ ।’

उनले बीमा कम्पनीहरूले समस्याहरू दोहोर्याइरहे, अस्वस्थ प्रतिस्पर्धा जारी राखे र कानून, नीति, नियम र निर्देशिकाहरू पालना नगरे कानून बमोजिम कारवाही गर्न प्राधिकरण बाध्य हुने र अबको कारवाही कडा हुने उल्लेख गर्दै कारबाहीको अवस्था आउन नदिनेगरी काम गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूले सुशासनमा देखिएका समस्या समाधान गर्न, बढ्दै गएको सरेण्डरलाई कम गर्न, वित्तीय जोखिमांकन र मेडिकल जोखिमांकनमा देखिएका समस्या समाधान गर्न र डिजिटलाइज्डरूपमा दाबी भुुक्तानी दिने व्यवस्था गर्न ध्यान दिनुपर्ने बताए ।

कार्यकारी निर्देशक पौडेलले बीमा व्यवसायमा नयाँ प्रविधि भित्र्याउन, बजार अनुसन्धान गरी नयाँ नयाँ बीमालेख ल्याउन र सबै मिलेर उन्नतरूपमा सुशासनका साथ कम्पनीलाई अगाडि बढाउन निर्देशन दिए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल (अधिकारी) ले जीवन बीमा व्यवसायमा देखिएका समस्यासम्बन्धी प्रस्तुती दिँदै बीमा कम्पनीहरूको वित्तीय र मेडिकल जोखिमांकन कमजोर रहेको, बजार अनुसन्धान गरी बीमालेख नल्याइएको, प्रवद्र्धनात्मक कार्यमा लगानी नभएको, कर्मचारीहरूको तालिम र संस्थागत सामाजिक उत्तरदायित्वमा पर्याप्त लगानी नभएको, दाबी भुक्तानी मार्गदर्शन कार्यान्वयनमा नआएको लगायतका समस्याहरू बीमा कम्पनीहरूको स्थलगत अनुगमनबाट देखिएको जानकारी दिए ।

कार्यक्रममा जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेलले जीवन बीमा क्षेत्रका अवसर र चुनौतीहरू सम्बन्धी प्रस्तुती गरेका थिए । नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले संचालन गरेको कार्यक्रममा प्राधिकरणका निर्देशक कमलप्रसाद रेग्मी, जीवन बीमक संघका पदाधिकारी, जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्