काठमाडौं, २४ पुस ।
पश्चिमी वायुको प्रभावले केही दिनयता देशैभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका विभिन्न ठाउँमा पानी पर्नुका साथै हिमपात भइरहेको छ। आज दिनभरी हिमपात र वर्षाको सम्भावना छ ।
२५–२६ पुसमा देशको पूर्वी र मध्य पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाको आज बिहानको मौसम बुलेटिनमा जनाइएको छ।

यी दुई दिन मध्य र पूर्वी पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
आज दिनभर पानी पर्ने र उच्च पहाडी तथा हिमाली भू(भागका अधिकांश स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेकोले, यसकै कारणले जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउन मौसमविद्ले अनुरोध गरेका छन्।
डडेलधुरामा २४ घण्टामा छ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यस्तै काठमाडौंमा दुई दशमलब तीन मिलिमिटर, वीरेन्द्रनगरमा तीन दशमलब दुई र दिपायलमा तीन दशमलब एक मिलिमिटर वर्षा मापन भएको छ।
आज बिहान डडेलधुराको तापक्रम शून्य डिग्री सेल्सियस छ। काठमाडौं उपत्यकाको तापक्रम छ दशमलब एक डिग्री सेल्सियस रहेको छ।
हिमपातले सुदूरपश्चिम प्रभावित
सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा गएरातिदेखि पुनस् हिमपात शुरु भएपछि जनजीवन प्रभावित भएको कैलालीबाट सहकर्मी दीपक नेपालले जनाएका छन्।
बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोड्पे, सतबाँझ लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख डिल्लीनारायण पाण्डेयले जानकारी दिए।
उनले सदरमुकाम गोठालापानीमा समेत हिमपात भइरहेको बताए।
अनारखोली क्षेत्रमा भएको भारी हिमपातपछि डडेल्धुरा(बैतडी दशरथचन्द राजमार्गसमेत अवरुद्ध भएको छ।
राजमार्ग अबरुद्ध हुँदा सयौ यात्रुहरू बाटोमा अलपत्र परेका छन्।
डडेलधुराको सदरमुकामसहित विभिन्न क्षेत्रमा हिमपात भईरहेको जिल्ला प्रहरी कार्यालय, डडेलधुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए।
डडेलधुराको भीमदत्त राजमार्गको साहुखर्क, हगुल्टेलगायतका स्थानमा पनि हिमपात भएको उनले बताए।
हिमपातपछि हगुल्टे क्षेत्रमा भीमदत्त राजमार्गसमेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी नायव उपरीक्षक न्यौपानेले बताए।












