
काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका पूर्वआयुक्त सुधीरकुमार शाहलाई उन्मुक्ति दिने निर्णय भएको छ । सरकारी वकिलको कार्यालयले पूर्वआयुक्त शाहलाई प्रतिवादी नबनाउने निर्णय गरेको हो ।
सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका शाह ६२ दिनदेखि प्रहरी हिरासतमा छन् । हिरासतमा राखेर अनुसन्धान भएपनि मुद्दा चलाउने बेला सरकारी वकिलले उनलाई प्रतिवादी नबनाउने निर्णय भएको सरकारी वकिल महेश खत्रीले बताए ।
सीआईबीको अनुसन्धानमा शाहले मालपोत कार्यालय भक्तपुरको प्रमुख हुँदा राणा परिवारबाट जग्गा प्राप्त गरेर सरकारी जग्गा हत्याउन सहयोग गरेको देखाएको थियो ।
शाहले श्रीमती उर्मिला शाहको नाममा ११ आना २ पैसा जग्गा लिएको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख थियो । सुधीर पत्नी उर्मिला शाह र गेहनाथ पत्नी भुवनकुमारी चापागाईंको नाममा कित्ता नं. ३६ को १ रोपनी २ पैसा जग्गा पनि भेटिएको थियो । सीआईबीले उनीविरुद्ध २९ करोड ३२ लाख मागदाबीसहित मुद्दा चलाउन राय दिएको थियो ।
तर, सरकारी वकिलले उनीविरुद्ध पनि मुद्दा नचलाउने निर्णय गरेको छ । के आधार सरकारी वकिलले उनीयविरुद्ध मुद्दा नचलाउने निर्णय गर्यो त्यो भने स्पष्ट भइसकेको छैन ।














