Logo
Logo

माओवादीद्धारा ‘आइसिटी फोरम’ गठन


1.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले आइसिटी फोरम गठन गरेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिमोट थिचेर आइसिटी फोरमको विधान खोलेर उद्घाटन गरेका हुन् ।

पछिल्लो समय त्याग सर्मपणभन्दा हल्लाकै भरमा संगठन बनाउने ट्रेण्ड देखिएको हुँदा त्यो ट्रेण्डलाई क्रस गर्नेगरी सकारात्मक काममार्फत पार्टीलाई जनतामा स्थापित गर्न सो संगठन गठन गरिएको प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिलेको युग सूचना प्रविधिको युगका रुपमा स्थापित भएको छ । यसको महत्व कति छ भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ । विज्ञान र प्रविधिको महत्व बुझेर त्यसलाई महत्व दिएका राजनीतिक दल सफल हुन हुने देखिएको छ । त्यसैले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णयअनसार आइसिटी फोरमको गठन गर्ने निर्णय गरिएको हो ।’

उनले यसको संगठन ग्रास रुटसम्म बिस्तार हुने बताउँदै भने, ‘समाजवादको आधार तय गर्नका लागि जनतासम्म पुग्नेगरी यस संगठनले पार्टीका नीति र विचारलाई प्रचार गर्नेछ । यसले पार्टीको प्रचार संयन्त्रको रुपमा काम गर्छ । आइसिटि फोरमले हल्लाकै भरमा संगठन बनाउने ट्रेण्डलाई क्रस गर्दै विचार, सिद्धान्त र नीतिलाई जनतामा स्थापित गर्नेछ ।’

पार्टीको तीन महिने अभियान कति सफल हुन्छ ? भन्ने कुरा सूचना प्रविधिको प्रयोग कति गर्छौ त्यसमा भर पर्ने बताउँदै सोहीअनुरुप काम गर्न नवगठित आइसिटि फोरमलाई प्रधानमन्त्री प्रचण्डले निर्देशनसमेत दिए । आसिटीको महत्वलाई बुझेर पार्टीले जुन किसिमको महत्व दिएको भन्दै त्यहीअनुरुप काम गर्न उनले आग्रह गरे ।

कार्यक्रमको संयोजक माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द आचार्यले गरेका थिए । उनले अहिले आइसिटि फोरमको केन्द्रीय तदर्थ समिति गठन गरिने जानकारी दिए ।

सो कार्यक्रममा प्रधानन्त्री एंव पार्टी अध्यक्ष प्रचण्ड, पार्टीका उपाध्यक्ष एंव प्रवक्ता अग्नि सापकोटा, जवसका इन्चार्ज पम्फा भूसाल, सूचना तथा संचारमन्त्री रेखा शर्मा लागायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्