वीरगञ्ज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेकपा माओवादी नेतृत्वको सरकारले समृद्धिको सपना साकार पार्ने दावी गरेका छन् । माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्षसमेत रहेका गृहमन्त्री श्रेष्ठले आइतबार वीरगञ्जमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् ।

उनले अँध्यारो युगलाई उज्यालोमा लैजाने र लोडसेडिङ अन्त्य गर्ने काम माओवादी नेतृत्वकै सरकारले गरेको दाबी गर्दै अहिले देश समृद्धिको आधार सुशासन भएकाले भ्रष्टाचारविरोधी अभियान चलाएको बताए ।
‘हामीले थालेको सुशासनको अभियानलाई असफल पार्ने षड्यन्त्र भइरहेको छ । भ्रष्टाचारी र तस्करीहरु अहिले यो अभियानलाई असफल पार्न सकिन्छ भनेर सार संयन्त्रमाथि प्रहार भइरहेको छ’ उनले भने, ‘तर म भन्न चाहन्छु, प्रचण्ड नेतृत्वको सरकारले सुशासनको अभियान रोक्दैन । यसलाई अगाडि बढाएर सफल बनाएरै छोड्छ । कसैको धम्की र प्रहारबाट आत्तिने छैनौँ ।’
देश र जनताप्रति प्रतिबद्ध हुँदै नयाँ नेपाल बनाउन सुशासनको अभियानलाई सफल पारिछाड्ने उनको भनाइ थियो । माओवादीले नै यो व्यवस्था ल्याएको उल्लेख गर्दै उनले यसको रक्षा गर्ने जिम्मेवारी पनि आफूहरुकै भएको बताए ।














