काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका शरणार्थी नेता टेकनाथ रिजाल पत्नीले आफ्ना पतिलाई झूठो आरोपमा फसाइएको बताएकी छन् ।

प्रेस नोट जारी गर्दै कौशिला रिजालले सधैँ न्यायिक लडाइँ र अधिकारको पक्षधर भएर हिँडेका नेता रिजालको सपनाबारे आफू जानकार रहेको भन्दै उनीविरुद्धको अभियोग झुठो भएको बताएकी हुन् ।
उनले ‘अप्रमाणित र अवाञ्छित अभियोगमा’ आफ्ना पतिलाई थुनिएको भन्दै न्यायिक निरूपणको माग समेत गरेकी छन् ।
शरणार्थीको स्वेच्छिक घर फिर्ती अभियानमा रहेका आफ्ना पतिको अभियानलाई निस्तेज गराउने चलखेल लामो समयदेखि हुँदै आएको पनि उनले दाबी गरेकी छन्।
‘मैले बितेको आधा शताब्दीयता दिँदै आएको साथ तथा उहाँको कार्यदिशा, सपनाबारे जानकार भएका कारण उहाँका पक्षमा राय राख्न उपयुक्त ठानेर यो अनुरोध लेख्दैछु,’ उनले भनेकी छन्, ‘इतिहासदेखि आफ्नो जातीय पहिचान, भाषा–संस्कृतिको पक्षमा आवाज उठाउँदै र न्याय, लोकतन्त्र तथा मानव अधिकारको पक्षधर बनेरै संघर्षको भिन्न उचाइमा चिनिएको नाम हो–टेकनाथ रिजाल। न्याय, नियम र पद्दतिको पक्षमा उभिने भएरै भुटानमा १० वर्ष जेलनेल व्यहोर्ने नेता रिजाल भुटानी शरणार्थीको स्वेच्छिक घरफिर्तिको अडानमा निरन्तर आवाज उठाइरहने एकमात्र प्रतिनिधि पात्र हुनुहुन्छ ।’
कौशिलाले ‘झन्डै ३० वर्षयता शरणागत भएर नेपाल भूमिमा बस्दै आएको र शरणार्थी हकहितका निम्ति राष्ट्रिय÷अन्तर्राष्ट्रिय तहमा आवाज उठाउँदै आएका नेता रिजालको अभियानलाई निस्तेज गराउन लामो समयदेखि चलखेल जारी रहेको’ आरोप पनि लगाएकी छन।














