Logo
Logo

कोशीमा सभामुख फालाफाल छ, लेनदेनसँग गाँसेर प्रचार गरियो : राजेन्द्र लिङ्देन


630
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कोशी प्रदेशमा राप्रपाले चाहेर पनि अहिलेको सरकारलाई समर्थन गर्न नसकने बताएका छन् ।

यूएई र साउदी अरबको भ्रमणबाट आज स्वदेश फर्किएका अध्यक्ष लिङ्देनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राप्रपाले कोशी सरकारलाई सहयोग गर्ने वा विश्वासको मत दिने अवस्था नरहेको बताएका हुन् ।

उनले भने, ‘कतिपय ठाउँमा जिम्मेवार व्यक्तिले सभामुख र एउटा मन्त्री लिने र राप्रपाले अहिलेको गठबन्धनलाई कोशी प्रदेशमा सघाउने टुङ्गो लाग्यो भन्ने जस्ता प्रचार भए । प्रक्रियाको हिसाबले नै अब राप्रपाले चाहेर पनि सहयोग गर्ने चरण नै समाप्त भइसकेको छ । त्यो झुट कुरा हो ।’

संसदीय समितिमा राप्रपाले विकास तथा प्रविधि समितिको नेतृत्व गर्न पाएको विषयलाई लेनदेनसँग गाँसेर प्रचार गरेकोप्रति पार्टीको ध्यानाकर्षण भएको उनले बताए । उनले भने, ‘अहिलेको अवस्थामा सभामुख फालाफाल छ । सभामुख लिन कसैसँग कुनै सहमति आवश्यक पनि छैन, हामीले संसदीय समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको लेनदेनको सहमति भएको होइन ।’

उनले संसदीय समितिको नेतृत्व पार्टीले पाएको विषयलाई लेनदेनसँग जोड्न नमिल्ने जिकिर गरे । अध्यक्ष लिङदेनले राप्रपालाई कोशी प्रदेशमा मुख्यमन्त्रीको प्रस्ताव आएको समेत बताए । उनले भने, ‘सभामुख र मन्त्री प्राथमिकताको विषय होइन । हामीले अहिले चाह्यौँ भने सत्ता गठबन्धनबाट मुख्यमन्त्री नै प्राप्त गर्न सक्ने गणितीय अवस्था छ ।’

अध्यक्ष लिङ्देनले कोशी प्रदेशमा संसदीय समितिको सभापति लिने क्रममा सत्ता गठबन्धनसँग कुनै लेनदेन नगरेको र आफूहरुको दलको हैसियतअनुसार समिति सभापति लिएको स्पष्ट पारे । पुस १० को गठबन्धनमै पनि बागमती र कोशीको सभामुख राप्रपाले लिने सहमति भए पनि त्यहाँको अङ्कगणितलाई हेरेर आफूहरुले नलिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्