Logo
Logo

पानीढलो बन्ला त केन्द्रीय समितिको बैठक ?



नेकपा एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)ले भदौ २ गते स्थापनाको दुई वर्ष पूरा गरेको छ । यसबीचमा यो राष्ट्रिय पार्टी बन्न सकेन, यसले एमालेभन्दा फरक पार्टी हो भन्ने एजेण्डा स्थापित गर्न सकेन र एमालेबाट विद्रोह गर्नुको औचित्य पनि पुष्टि भएन । फलतः पार्टीका नेता र कार्यकर्ता एमालेमै फर्किरहेका छन्, बाँकी भएकामा पनि निराशा, कुण्ठा र हतासा बढ्दो छ । यही गति कायम रहने हो भने यो पार्टीले २०८४ नै देख्न नपाउने हो कि भन्ने आशंका बढ्दो छ ।

आखिर किन निकै ठूलो एमाले–चोइटो लिएर विद्रोह गरेको नेकपा एस यो अवस्थामा पुग्यो त ? यसका पछाडि मूलतः पाँच कारण छन् । एक, यो पार्टी वैचारिक र कार्यक्रमिक कोणबाट एमालेभन्दा फरक थिएन पनि र हो भन्ने स्थापित पनि गर्न सकेन । पार्टीका केही नेताले यो पार्टीलाई एमालेको आठौँ महाधिवेशनकै मार्गचित्रमा हिँडाउन खोजेका थिए । तर, केही परिस्थितजन्य अवस्था र केही मूल नेतृत्वको विशेषता र प्रवृत्तिका कारण त्यसो हुन सकेन । विचार र नीतिको कुरा त टाढै छोडौँ, पार्टी एजेण्डासमेत स्थापित गर्न नसकेर तन्नम हुँदै गयो ।

तत्कालीन परिस्थितिको कुरा गर्दा, जतिसुकै माक्र्सवाद–समाजवादको सैद्धान्तिक जामा लगाए पनि कम्युनिष्ट पार्टी मुलतः व्यक्तिवादी पार्टी नै हुन्छ । नेताको व्यक्तिगत व्यवस्थापनकै लागि धेरै कम्युनिष्ट पार्टी बन्ने हो । नेकपा एस पनि त्यसैको निरन्तरता हो । र, समाजवादी पार्टीका लागि माधव नेपालको टाउको नै सबैभन्दा ठूलो ब्राण्ड पनि थियो । ओलीको जत्रै टाउको नेपालकै थियो । त्यत्रै टाउको देखाउनुपर्ने बाध्यताका कारण नेपालको टाउको देखाएर हिँड्नुपर्ने परिस्थिति बन्यो ।

त्यसमा झलनाथ खनालको पनि टाउको जोडेर अलि ठूलो बनाउन खोजियो । तर ती दुवै टाउकाको शिरा र धमनी नै फरक भएकाले एउटै टाउकोजस्तो देखिएनन्, टाढैबाट दुईटै टाउको छुट्टिएको बेसाइजको टाउकोजस्तै देखियो । प्रकारान्तरमा नेपाल अरूलाई छोड्दै एक्लिदै सानो कोठरीमा सीमित हुन पुगे । भन्दा अलि बढी सुनिएला तर जे भए पनि एमालेमा ओलीकै जस्तै समाजवादीमा नेपालकै बोली अन्तिम हुन्छ ।

दुई, एमालेमा ओली भर्सेज नेपालको स्वार्थ, व्यक्तित्व र जुँगाको लडाइँ थियो । त्यो लडाइँलाई पद्धतिको जामा लगाएर नेपाल बाहिरिएर नेकपा एस बनाएका थिए । तर, नेपाल एक पात्र मात्र हैन, प्रवृत्ति नै भएकाले उनीसँगै त्यो प्रवृत्ति पनि नेकपा एसमा स¥यो । उनले ओलीले गरेको गल्तीबाट पाठ सिकेनन्, उल्टै उस्तै प्रकृतिका गल्ती दोहो¥याए । पार्टी पद्धतिको कुरा गरेर ओलीलाई अर्ति दिन नथाक्ने नेपाल आफैँ अझ अग्ला ओली हुँदै पार्टी पद्धतिको उल्लंघन गर्न थाले । जसरी एमालेमा ओली नै पार्टी भन्ने थियो, यता नेकपा एसमा पनि नेपाल नै पार्टी भन्ने खालको परिस्थिति सिर्जना अनुभव नेता, कार्यकर्ताले गरेका छन् ।

यही क्रममा पार्टीको लागि मोहोरा बन्न सक्ने सक्षमलाई किनारा लगाएर फेस भेल्यु नै नभएका ताबेदारहरूका लागि मैदान खाली गरियो । प्रकारान्तरमा नेपालको तानाशाही खप्नुभन्दा ओलीकै तानशाही खप्नु ठीक भन्दै धेरै नेता–कार्यकर्ता एमालेमै फर्किए । जो नेपालको कोपभाजनको शिकार बनेर पनि एमालेमा जान सकेनन्, उनीहरू या त पार्टी राजनीतिबाटै पलायन भए या त निस्क्रिय बसे ।

तीन, यो पार्टी ओलीको एमालेविरूद्ध खह्रो उत्रेर स्थानीय र संघ तथा प्रदेशको चुनावमा ठूलो सफलताका साथ राष्ट्रिय पार्टी बन्छ भन्ने यो पार्टीमा लागेका धेरैको अपेक्षा थियो । त्यसो भएको भए नेताहरूको पद व्यवस्थापन त हुन्थ्यो नै, पार्टीप्रतिको आकर्षण पनि कायमै रहन्थ्यो । तर, त्यसो हुन सकेन । स्थानीय, प्रदेश र संघ कुनै पनि तहमा उत्साहजनक परिणाम आउन सकेन । ठूलो सत्तारूढ गठबन्धनको हिस्सा हुनुपर्दा पहिला त पार्टीले उम्मेदवारी नै थोरै पायो, पाएकामध्ये पनि धेरैले लज्जास्पद हार व्यहोर्नुप¥यो । गठबन्धनका कारण संघमा १० स्थान जित्यो । तर तीन प्रतिशत मतको थ्रेसहोल्ड कटाउन नसकेर राष्ट्रिय पार्टीको मान्यता पनि पाउन सकेन । यो आफैँमा एक लज्जाको विषय बन्यो ।

चार, नेकपा एसले आफूलाई समाजवादी भने पनि त्यो एक किसिमको ताइँ न तुइँको फण्डा मात्र बन्यो, एजेण्डा बन्न सकेन । एकातिर एमालेमा विद्रोह गर्नुको औचित्य पुष्टि नहुनु अर्कोतिर पार्टीमा एजेण्डा नै स्थापित नहुनु, यस्तो तन्नम स्थितिमा पार्टी बन्न सक्ने कुरै भएन । त्यसमा पनि पार्टीको सारा बल संगठन निर्माण र विस्तारमा भन्दा पनि कसरी सरकारमा टाँसिरहने र अध्यक्ष नेपाललाई केही दिनका लागि भए पनि प्रधानमन्त्री बनाउने भन्ने ध्याउन्नमै केन्द्रित भयो । पार्टीको टाउको त देखिने भयो तर शरीर क्रमशः दुब्लाउँदै र खुट्टा सुक्दै गए । यसरी सुकेनासले समातेपछि पार्टीको हालत जे हुनु थियो, अहिले भएको त्यही हो ।

यसको अर्थ नेकपा एस पूरै सकियो भन्ने हैन, अझै पनि यो एक महत्वपूर्ण राजनीतिक शक्तिका रूपमा रहेकै छ । हो, पार्टी बन्न सकेन, एजेण्डा छैन, पार्टी विद्रोहको औचित्य पुष्टि हुन सकेन । यद्यपि, अहिलेको त्रिशंकु राजनीतिक अवस्थामा योसँग भएको अंकगणितको ठूलो मूल्य छ । त्यही अंकगणितका आधारमा यो पार्टीले एक राजनीतिक शक्तिका रूपमा आफ्नो अस्तित्व कायम गरेको छ । तर, यो अवस्था २०८४ पछि पनि कायमै राख्न भने मुस्किल हुने किसिमको परिस्थिति बन्दैछ ।

अब प्रश्न उठ्छ, के नेकपा एसले यस बीचमा केही नै गरेन त ? त्यस्तो पनि निस्कर्ष निकालिहाल्नु हुँदैन । यस बीचमा यसले मुलतः तीनवटा कार्यभार पूरा गरेको छ । पहिलो, ओली र उनको पार्टी एमालेलाई केही मात्रामा भए पनि साइजमा ल्याएको छ । यदि एमाले फुटेर नेकपा एस नबनेको भए अहिले ओलीको पार्टी सबैभन्दा ठूलो पार्टी त हुन्थ्यो नै, सम्भवतः ओली नै प्रधानमन्त्री भएर सत्ताको डंका पनि बजाइरहेका हुन्थे । तर, यो पार्टीले ओलीलाई सत्ताच्युत मात्र गरेन, उनको फूर्ति पनि नराम्ररी झारिदियो । यद्यपि अझै पनि ट्याउँट्याउँ गरिरहेका ओली सार्वजनिकरूपमा यो स्वीकार्न तयार भइसकेका छैनन् ।

तर, यो निश्चित छ कि २०८४ को चुनावमा नेकपा एसको हैसियत एमालेलाई हराउने मात्रै हुन्छ । यो सत्य एसका नेताले पनि बुझ्छन् र एमाले पनि आफू जित्नका लागि त्यो अंकको चर्को मूल्य बुझ्छ । सत्ता नै सबैथोक भएको अहिलेको अवस्थामा सबैखाले लोभीपापीलाई भ¥याङ चढाउने भनेको अंकगणित नै हो, त्यसको जोहो गर्न पनि दुवै मिल्नुपर्ने हुन्छ । त्यसैले २०८४ को चुनावसम्ममा कुनै नाटकीय मोड आएर यी दुवै पार्टी पुरानै एमालेको ब्राण्डमा थान्को लाग्ने परिस्थिति हुन्छ । माधव नेपाल अर्को संस्करणको सीपी मैनाली बन्न तयार भए पनि यस पार्टीमा रहेका धेरै नेता कार्यकर्ता त्यस्तो पार्टीमा रहेर सति जान तयार हुँदैनन् ।

दोस्रो, नेकपा एस सानै पार्टी भए पनि लगातारजसो सरकारमा रहेर मन्त्रीको पगरी भिर्ने नेताहरूको संख्या बढाइरहेकै छ । यति मात्र हैन, सत्ता गठबन्धनको बेला भएको बाचा बन्धनले काम ग¥यो भने पार्टी अध्यक्ष माधव नेपाल एक वर्षकै लागि भए पनि अर्को वर्ष प्रधानमन्त्री बन्नेछन् । प्रतिनिधिसभामा १० सांसद मात्र रहेको र राष्ट्रिय पार्टी पनि नभएको पार्टीका लागि यो विचित्रकै उपलब्धि हुनेछ ।

तेस्रो, पार्टी गठनकै बेला धेरैले यो पार्टी केही समयपछि नै नेकपा माओवादीमा बिलिन हुन्छ भन्ने आँकलन पनि गरेका थिए । तर, दुई वर्षसम्म पनि यो अस्तित्वमै रहेर ती अड्कलबाजहरूलाई लोप्पा खुवाइदिएको छ । यो पनि एक किसिमको ठूलै उपलव्धि हो ।

चौथो, नेकपा एसलाई नामेट पार्न यसबीचमा एमाले अध्यक्ष ओलीले जायज÷नाजायज सबै किसमिका हत्कण्डा अपनाए । नेताहरूलाई एमालेमै फर्काउन रातो कार्पेट ओछ्याए, नेकपा एससहितको सत्ता गठबन्धनबाट एक्ल्याउन न्वारानदेखिको बल लगाए, पार्टी नै हुन नदिन अदालत गुहारे, नेताहरूको सांसद पद सिध्याउन संसदमाथि धावा बोले । यी सबैका अतिरिक्त पनि नेकपा एस हिङ सकिदै गएको टालो मात्र भए पनि अगाडि बढिरहेकै छ । वाचाल ओलीका सारा कर्तुत चिर्दै यहाँसम्म पुग्नु आफैंमा ठूलो उपलव्धी हो ।

यसैबीच नेकपा एसको छैटौँ केन्द्रीय समितिको बैठक भदौ ५, ६ र ७ गते सम्पन्न भएको छ । बैठकले माघमा पार्टीको १०औँ महाधिवेशन गर्नेदेखि त्यसअगाडि संगठन निर्माण र विस्तारको ६ महिने महत्वाकांक्षी कार्ययोजना अगाडि सारेको छ । एमालेका वैचारिक नेता घनश्याम भुसाल आएर महासचिव सम्हालेपछि सम्पन्न यो बैठकले केही आशाका किरण देखाएको छ । पार्टी अध्यक्ष नेपालको नेतृत्व र कार्यशैलीलाई लिएर धमिलै भए पनि ऐना देखाउने काम भएको छ र उनले पनि ऐनामा ख्याउटे हुँदै गएको एसको अनुहार देखेर आत्मालोचना गरेको समाचार बाहिर आएको छ ।

अबको ६ महिना नेकपा एसको जीवनमा चुनौतीपूर्ण हने देखिन्छ । केन्द्रीय समितिले अगाडि सारेका योजनाअनुसार नै अगाडि बढ्यो भने यो पार्टीले विस्तारै एमालेबाट विद्रोह गर्नुको औचित्य मात्र पुष्टि गर्दैन, वास्तविक पार्टी बनाउन पनि सुरू गर्छ । अन्ततः एमाले र एस मिल्ने नै हुन् । त्यसका लागि नेकपा एस शक्तिशाली भइरहनु पर्छ जसले यी दुई पार्टीलाई मिलाउने दबाब सिर्जना गर्छ । यदि त्यसो भएन र यो पार्टी सकियो भने एमालेमा ओली अरू बलियो हुनेछन् । ओली बलियो हुनु भनेको एमाले कमजोर हुनु हो, नेपालको वामपन्थीधार भुत्ते हुनु हो । यसले प्रकारान्तरमा नेपालको वैचारिक धारमा दुईदलीय ध्रुवीकरणमा जाने बाटो अवरूद्ध गर्छ ।

यसअर्थ पनि नेकपा एसको भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठक पानीढलो बन्न सक्नुपर्छ । तर, त्यसका लागि मुलतः पार्टीको मूल नेतृत्व नै सच्चिन तयार हुनुपर्छ । यसोभन्दा यस पार्टीका अध्यक्ष माधवकुमार नेपाल र उनका खास मान्छेहरूलाई चित्त नबुझ्न सक्छ, बुझ्दैन ।

नेपाल समसामयिक नेताहरूमा तुलनात्मकरूपमा कम आडम्बर पाल्ने र सादगी नेता हुन् । यो उनको सकारात्मक पाटो हो । तर, उनी कहिलै आफ्नो राजनीतिक कद ऐनामा हेर्न नसक्ने मुटु भएका कमजोर नेता पनि हुन् । उनलाई ऐना देखाउने धेरैलाई सक्दा ठेगान लगाएका छन्, नसक्दा आफैँ मुर्मुरिएका छन् । आलोचना सुन्न नसक्ने उनी सानो चित्त बनाएर इख पाल्ने नेताका रूपमा बदनाम छन् ।

विदेश जान भनेपछि सधैँ खुट्टा उचालेर तयार हुने उनका लागि विमानको टिकट र बस्ने होटल व्यवस्था गरिदिए हुन्छ । एकजना मन्त्री कि दुईजना राजदूत भन्यो भने उनी राजदूत नै छान्छन् किनभने, मन्त्री हुन कम्तीमा सांसद हुनैपर्छ तर राजदूत त बहिनी ज्वाइँलाई बनाउन पनि सकिन्छ । अस्ट्रेलियाका रादूत कैलाश पोखरेल उनका साख्खे बहिनी ज्वाइँ हुन् । नेपालकै बहिनी ज्वाइँ भएकै कारण वासिङ्टन डिसीस्थित नेपाली दूतवासामा इकोनोमिक काउन्सिलर पद सिर्जना गरेर कूटनीति क्षेत्रमा पुर्याएका पोखरेल त्यसअघि अर्थमन्त्रालयमा उपसचिव थिए । ५८ वर्ष पुगेर अवकाश भएपछि जेठानको कोटामा राजदूत भए ।

यो एक प्रतिनिधि ऐना हो नेपालको अनुहार देखाउने । तर, उनी यस्तो ऐना देखाउनेलाई सहदैन थिए, अब के गर्छन् त्यो हेर्नु छ । आशा छ, यसपालि भने यो स्तम्भकारलाई धन्यवाद नै देलान् । किनकि, यो पंक्तिकार उनको शुभचिन्तक हो, निन्दक हैन ।
बिट मार्दै गर्दा यतिचाहिँ भन्नैपर्छ कि यी सबका अतिरिक्त पनि नेकपा एसका मोहरा भनेका नेपाल नै हुन् । यो पार्टीका लागि अभिषाप भए पनि वरदान भए पनि उनै हुने हुन् । बाँकी त समयको ऐनाले देखाइहाल्छ, समयक्रममा चाहे पनि नचाहे पनि देखिन्छ, हेर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्