काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोराहरूमाथि लागेको सुन तस्करी आरोपमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नियतबस अनुसन्धान रोकेको आरोप लाग्ने गरेको छ ।
विद्युतीय चुरोट ‘भेप’मा लुकाएर हुने गरेको सुन तस्करीमा महरा तथा छोराहरू निर्मल र राहुलको प्रत्यक्ष संलग्नता देखिए पनि पार्टीको वरिष्ठ उपाध्यक्षसमेत रहेका गृहमन्त्री श्रेष्ठ नियतबस अनुसन्धान रोकेको माओवादीभित्रै चर्चा चल्ने गरेको छ ।

केही महिना अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राजस्व कार्यालयले अन्य देशबाट हवाइ मार्ग हुँदै आएको भेप बरामद गरेको थियो । पछि उक्त भेपमार्फत सुन तस्करी हुने गरेको खुलेको थियो ।
राजस्वले भेप रोकेपछि महराका छोरा राहुलले भेप छुटाउन सयौँ पटक प्रयास गरेको खुलेको थियो । अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी०ले सुनयुक्त उक्त भेप छुटाउन राहुलले सयौं पटक प्रयास गरेको तथ्य पत्ता लगाएको थियो ।
अनुसन्धानकै क्रममा सीआइबीले उक्त भेपका मालिक चिनियाँ सुन तस्करसँग राहुलसँगै महराले बारम्बार सम्पर्क गरेको खुलेपछि भेपमार्फत हुँदै आएको सुन तस्करीमा महरा परिवारको संलग्नता रहेको प्रतिवेदन बनाएको थियो ।
सीआइबीले महरा परिवारलाई उक्त सुन तस्करी प्रकरणमा अनुसन्धान गर्नुपर्ने प्रतिवेदन बनाएर गृहमन्त्रीलाई बुझाएको थियो । उक्त प्रतिवेदन सञ्चार माध्यमहरूमा समेत सार्वजनिक भइरहेको छ । तर, पनि भ्रष्टाचारविरुद्ध आक्रामक रुपमा लागेका गृहमन्त्री श्रेष्ठले भने महरा परिवारको अनुसन्धान भने रोकेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरणको कारबाहीबाट हाइहाइ भएको सरकारले सुन तस्करीमा राम्रो काम नभएको आलोचना खेपिरहेका बेला महरा परिवारमाथि अनुसन्धान नहुँदा माओवादीकै नुर गिरेको माओवादीभित्र बहसको विषय बनेको छ ।
चौतर्फी दबाब हुँदा पनि गृहमन्त्रीले महरा परिवारमाथि अनुसन्धान रोक्नुलाई माओवादी भित्रको अन्तरसंघर्ष कारक मानिएको छ । विगतमा प्रचण्ड समूहमा रहेर आफूमाथि बारम्बर प्रहार गरेका महरालाई ‘क्लिन चिट’ नदिने नियतमा गृहमन्त्रीले अनुसन्धान रोकेका आरोप लागेको छ ।
माओवादी केन्द्रका एक नेताले भने- ‘नारायणकाजी कमरेड र महरा सरबीच लामो समयदेखि राम्रो सम्बन्ध छैन । महरा सरसँग गृहमन्त्री सँधै असुरक्षित ठान्नु हुन्छ । उहाँमाथि अनुसन्धान नगरेर उहाँलाई सजाय वा क्लिन चिट नगराउन उहाँको नियत देखियो । क्लिन चिट नदिएर महराको ‘घुच्चुकमा तरबार’ झुण्ड्याउने प्रयास भइरहेको छ ।’
त्यसो त पछिल्लो पटक संसद्को अवरोध खुलाउने सन्दर्भमा दलहरूबीच ६० किलो सुन र भेपबाट भएको सुन तस्करीबारे जाँचबुझ समिति बनाएर अध्ययन गर्ने सहमति भएको छ । सोही क्रममा महरा परिवारमाथि छानविन हुने सम्भावना पनि छ । तर, सुन प्रकरणमा यतिखेर पनि धमाधम अनुसन्धान चलिरहेको छ । यसै क्रममा महरा परिवारमाथि अनुसन्धान नै नहुनुले गृहमन्त्रीको नियतमाथि प्रश्न उठाउने ठाउँ भेटिन्छ ।
महरा परिवारमाथि अनुसन्धान हुने हो भने कि त उनले क्लिन चिट पाउँछन्, कि त दोषी ठहर भएर सजाय भोग्छन् । तर, गृहमन्त्रीले अनुसन्धान नै रोकेर सधैँभरि महरामाथि सुन तस्करको बिल्ला भिराइराख्ने योजना पो हो कि रु भन्ने आशंका रहेको ति नेता बताउँछन् ।
माओवादीभित्र महरा परिवारमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने माग उठिरहेको बेला अनुसन्धान नै नभएपछि यसमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि भूमिका रहेको अनुमान गरिएको छ ।














