धनुषा, २५ पुस ।
देशमा माफियाहरुको आतंक बढेको छ । गिट्टीबालुवाको एक माफिया समूहले धनुषाको मिथिला नगरपालिकामा शुक्रबार बिहान एक युवकको हत्या गरेको छ । औरही खोलामा अवैध गिट्टीबालुवा उत्खनन्को विरोध गर्दै आएका २४ वर्षीय दिलीपकुमार महतोलाई नदीमै टिपरले किचेर हत्या गरेको हो ।

मिथिला नगरपालिका–५ श्रीपुरमा रहेको घरनजिकैको नदीमा भइरहेको अवैध उत्खनन्को विरोध गर्दा महतोलाई टिपरले किचेर हत्या गरेको हो । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए। उनका अनुसार महतोलाई जबर्जस्ती समाएर ना ७ ख ६४१३ नम्बरका टिपर चालकले किचेका थिए।
साथीसँग मर्निङवाक गएका बेला महतोको हत्या भएको स्थानीयले आरोप लगाएका छन्। टिपर र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।युवको हत्या विरोधमा स्थानीयले टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। राजनीति र प्रहरीको संरक्षणमा नै देशभरी नै यस्ता समूह सक्रिय हुँदै गएका छन् ।












