
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी कार्यान्वयनमा जाने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै एमाले अध्यक्ष ओलीले संसदबाटै पास भइसकेका कारण एमसीसी कार्यान्वयनमा जाने बताएका हुन् ।
उनले भने, ‘संसदबाट अनुमोदन भइसकेको कुरा कार्यान्वयनमा जान्छ, यसमा कुनै दुविधा छैन । एमसीसी पास गर्नु उपयुक्त हो कि हैन भनेर त्यतिबेलै सोच्नुपर्ने थियो ।’ तर, संसदबाट एमसीसी पास गर्ने बेलामा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणालाई भने उनले झुटको खेस्रो भनेका छन् ।
‘१२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो हो । झुटको खेस्रो उहाँहरु (सत्तापक्ष)ले जनतालाई दिएको धोका हो,’ ओलीले भने, ‘संसदबाट पास भएको भनिएको झुटको खेस्रो नेपाली जनतालाई धोका दिएको एउटा प्रमाण हो । त्यसलाई एमसीसीले मान्दैन ।’
सत्तापक्षले १२ बुँदे व्याख्यात्मक घोषणा गरेपछि मात्रै संसदबाट एमसीसी अनुमोदन भएको थियो । त्यही घोषणा झुटको खेस्रो र जनतालाई दिएको धोका भन्दै ओलीले व्याख्यात्मक घोषणा एमसीसीले नमान्ने जिकिर गरे ।














