काठमाडौं । इलेक्ट्रिक सिगरेट (भेप)मार्फत भएको सुन तस्करीमा संलग्न रहेको आरोपमा माओवादी नेता राहुल महरा पक्राउ परेका छन् । उनी माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा हुन् ।
छोरा राहुल पक्राउ परेसँगै पूर्वसभामुखसमेत रहेका महरा पनि पक्राउ पर्ने सम्भावना बढेको छ किनकि, जुन प्रकरणमा छोरा राहुल पक्राउ परे, बुबा महरा पनि सोही प्रकरणमा मुछिएका छन् । करिब दुई महिना अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राजश्व कार्यालयले हवाइ मार्ग हँुदै नेपाल भित्रिएको इलेक्ट्रिक सिगरेट (भेप) नियन्त्रणमा लिएको थियो ।

राजश्वले नियन्त्रणमा लिएको भेप छुटाउन चौतर्फी दबाब आउन थालेपछि जाँच गर्दा भेपमार्फत सुन तस्करी हुँदै आएको खुलेको थियो । उक्त भेप छुटाउन दबाब दिनेमध्ये पहिलो नम्बरका व्यक्ति हुन्, राहुल महरा ।
यो प्रकरण सीआईबीले अनुसन्धान गर्योे । अनुसन्धानका क्रममा उक्त भेपका मालिक चिनियाँ नागरिकसँग राहुलले सयौँ पटक संवाद गरेको तथ्य फेला पर्यो । उक्त तस्कर व्यापारीसँग राहुल मात्रै नभएर बुबा कृष्णबहादुर महरा पनि बारम्बार सम्पर्कमा रहेको खुलेपछि सीआईबीले महरा बुबा–छोरामाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
सीआईबीले बुबा–छोरामाथि नै अनुसन्धान गर्नुपर्ने प्रतिवेदन तयार पारेको भएपनि सत्ताको आडमा उनीहरुमाथि अनुसन्धान रोकिएको थियो । यसै विषयलाई जोडेर एमालेले लामो समय संसद अवरुद्ध गरेको थियो । दलहरुबीच सुन प्रकरण अनुसन्धान गर्न जाँचबुझ समिति गठन गर्ने सहमति भएपछि सदन खुलिसकेको अवस्थामा राहुल पक्राउ परेका हुन् । राहुल पक्राउ परेसँगै महरा पनि पक्राउ पर्ने सम्भावना रहेको छ ।
सीआईबी स्रोतका अनुसार भेपमार्फत भएको सुन तस्करीमा पूर्वसभामुख महराको संलग्नताबारे थप अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा सुन तस्करीमा बुबासहित दुई छोराहरु निर्मल महरा र राहुल महरा नै संलग्न रहेको प्रमाणहरु भेटिएका छन् । यसै आधारमा पूर्वसभामुख महरा पक्राउ पर्ने सम्भावना बलियो रहेको स्रोतले बताएको छ ।
नक्कली शरणार्थी प्रकरण र ललितानिवास प्रकरणमा सरकारले गरेको कारबाहीका कारण सरकारको प्रशंसा भइरहेको बेला सुन तस्करी प्रकरणमा आफ्नालाई जोगाएको भन्दै सरकारको आलोचना भइरहेको बेला माओवादी नेता राहुल पक्राउ परेका हुन् ।














