काठमाडौं, २५ पुस । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेसँग शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर भेटवार्ता गरेका छन् । दुवै अध्यक्षले राजिनामा दिन आग्रह गर्दै पछि अवसर दिने बताएका छन् ।

अध्यक्षद्वयले प्रतिनिधिसभाको सभामुख चयनको विषयमा उपसभामुख तुम्बाहाम्फेसँग छलफल भएको हो प्रतिनिधिसभाका तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि बालात्कार प्रयासको आरोप लागेपछि उनले राजिनामा दिएसँगै पद रिक्त छ । सभामुख चयनका लागि ११ पुसमा डाकिएको प्रतिनिधिसभाको बैठक नेकपामा सहमती जुट्न नसक्दा स्थगित गरि १६ पुसमा डाकिएको थियो । दोस्रो पटक डाकिएको बैठकमा पनि सभामुखमा सहमती नजुटेका कारण स्थगित भयो । अर्को बैठक आइतबार डाकिएकाले सहमती जुटाउन उपसभामुख तुम्बाहाम्फेसँग अध्यक्षद्वयले भेटवार्ता गरेको स्रोतले बताएको छ ।
तुम्बाहाम्फे पनि सभामुखका लागि इच्छुक र स्वभाविक दावेदार हुन् । तुम्बाहाम्फेले उपसभामुखबाट राजिनामा दिएर बाटो खोल्ने र उनको व्यवस्थापनबारे बालुवाटारमा वार्ता हुन लागेको नेकपाका एक नेताले बताए । सभामुखमा सुवास नेम्वाङ र अग्नि सापकोटाबीच प्रतिस्पर्धा छ ।












