Logo
Logo

कम्युनिष्टहरु एकताबद्ध हुन अध्यक्ष दाहालको आह्वान


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले विभाजित कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।
धुम्रबाराहीस्थित पार्टी कार्यालयमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले तत्कालीन नेकपा माओवादीबाट विभाजित भएका र अन्य कम्युनिष्ट पार्टीहरुलाई समय छँदै जतिसक्दो चाँडो पार्टी एकताबद्ध हुन आह्वान गरे । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका नेता मोहन कार्की ‘जीवन्त’ र नेत्री सीता कार्कीलाई पार्टीमा स्वागत गर्दै उनले भने, ‘साथीहरु अप्ठ्यारो नमानिकन एकतामा आउनुहोस्, हामी सबैको उद्देश्य समाजवाद हो, देशलाई समाजवादतर्फ लैजाने आधार तयार भएको छ, अब समाजवादी एकै ठाउँमा आउनुको विकल्प छैन ।’
अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनको शुरुका चरणमा आन्तरिक र बाह्य कारणले विभाजन र एकताको प्रक्रिया चलेपनि अहिले कम्युनिष्ट पार्टीहरुबीच एकताको लहर जारी रहेको बताउँदै भने, ‘विप्लवहरु एकतामा आउनुहुन्छ, अन्य साथीहरु पनि आउनुहुन्छ, तर ढिला भयो भने फाइदा गर्दैन ।’
अध्यक्ष दाहालले तत्कालीन नेकपा (माओवादी र नेकपा (एमाले) बीचको एकतापछि मुलुकमा राजनीतिक स्थायित्व, स्थिर सरकार गठनसँगै आर्थिक विकास हुँदै मुलुक समृद्धिको बाटोमा अग्रसर भएको दावी गरे । नेता ‘जीवन्त’ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आर्थिक विकाससँगै वैज्ञानिक समाजवादलाई पूरा गर्ने लक्षण देखेर पार्टी प्रवेश गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्