Logo
Logo

नयाँ नक्साबारे धेरै नबोल्न भारतलाई चीनको चेतावनी



एजेन्सी । चीनले हालै जारी भएको नयाँ नक्साबारे धेरै नबोल्न भारतलाई चेतावनी दिएको छ । चीनले नयाँ नक्सा जारी गर्दै अरुणाचल प्रदेशलाई आफ्नो भूमिका रूपमा प्रस्तुत गरेपछि भारतले विरोध जनाइरहेको छ ।

भारतको विरोधसँगै चीनले भारतलाई चेतावनी दिँदै नयाँ नक्साबारे धेरै नबोल्न भनेको हो । २८ अगष्टमा चीनले यस वर्षका लागि मानक नक्सा भन्दै नयाँ नक्सा जारी गरेको थियो । पहिलेजस्तै चीनले यस वर्ष पनि अरुणाचल प्रदेश र अक्साईलाई आफ्नो भूमि भएको दाबी गरेको छ ।

त्यसपछि भारतका विदेशमन्त्री एस जयशंकरले चीनले बेतुक र मूर्ख दाबी गरेको बताएका थिए । जयशंकरले भनेका थिए, ‘चीनको यो पुरानो बानी हो । उसले अर्काको भूमिलाई आफ्नो भएको दाबी गर्छ । हाम्रो सरकारले देशको रक्षाका सन्दर्भमा आफ्नो स्थितिलाई प्रस्ट पारेको छ । अरुको क्षेत्र कुनै पनि प्रकारको बेतुका दाबीले कसैको हुनेछैन ।’

चीनका विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भारतलाई चेतावनी दिँदै चिनियाँ नक्साबारे भारत शान्त रहनु नै उत्तम उपाय भएको बताएका छन् । उनले भनेका छन्, ‘२८ अगष्टमा चीनले सन् २०२३ को मानक नक्सा जारी गरेको छ । चीनले कानुनअनुसार सार्वभौमिक प्रक्रियाअन्तर्गत नियमित अभ्यास गरेको हो ।’

‘हामी आशा गर्दछौँ कि यस विषयमा सम्बन्धित पक्षहरू वस्तुनिष्ठ हुनुपर्छ र शान्तिपूर्ण रूपमा आफ्नो काम गर्नुपर्छ । उनीहरू यस विषयलाई अति व्याख्या गर्नबाट जोगिनुपर्छ,’ वेनबिनले भनेका छन् ।

चीनले भारतको अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको हिस्सा बताउँदै उक्त क्षेत्रलाई आफ्नो जंगनान प्रान्त भन्ने गर्दछ । यसैवर्षको अप्रिल महिनामा पनि चीनले अरुणाचल प्रदेशका ११ गाउँको नामलाई चिनियाँ नाम दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्