Logo
Logo

तातोपानी नाकामा स्थानीयले आवतजावत गर्न पाउने



काठमाडौं । शुक्रबारबाट तातोपानी नाकामा स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाउने भएका छन् । चिनियाँ अधिकारी र नेपाली अधिकारीहरूबीच गत मंगलबार तिब्बतको ल्हासामा भएको बैठकले यस्तो सहमति गरेको हो ।

नेपालका महावाणिज्य दुत नवराज ढकालले फेसबुक पेजमा यसको पुष्टि गर्दै जानकारी सार्वजनिक गरेका छन् । कोदारीस्थित अध्यागमन बिभागका नायब कार्यकारी प्रमूख रविन्द्र पोखरलले पनि शुक्रबारबाट यो नाका यात्रु आवत जावतको लागि खुला गरिन लागेको जानकारी दिए ।

पोखरेलका अनुसार सिन्धुपालचोकका स्थानीयले आवतजावतको लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।

२०७२ सालको भुकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिबाट मालवाहक सवारीको आवात जावत खुलेको थियो। मानिस आवत जावत भने खुल्न सकेको थिएन ।

यात्रु आवात जावत खुलेसँगै सो नाकाबाट हुने व्यापारमा थप सुधार हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी असोज ५ गते चीन भ्रमणमा जाने कार्यक्रम छ ।

अमेरिकाको न्यु योर्कमा हुने ७८ औं संयुक्त राष्ट्रसंघ महासभामा भाग लिएपछि प्रधानमन्त्री दाहाल त्यहाँबाट सोझै चीन जाने कार्य तालिका छ । उनको भ्रमणमा तातोपानी व्यापार नाका प्राथमिकतामा पर्ने व्यवसायीहरूको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्