काठमाडौं, २७ पुस ।
प्रदेश ३ स्थायी राजधानी हेटौंडा कायम गर्ने प्रस्ताव पास भएको छ । आइतबार बिहान प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो ।

प्रदेशसभामा आइतबार बिहान राजधानी हेटौंडा राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०५ सांसदले पक्षमा मतदान गरे । ३ सांसदले भने काभ्रेलाई राजधानी बनाउने पक्षमा थिए ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले यसअघि नाम र राजधानीबारे निर्णय गरेको थियो । त्यहीँ निर्णयलाई प्रदेशसभा संसदीय दलले सदर गर्दै प्रदेशसभामा पेस गरेको थियो । जसमा प्रमुख विपक्षी नेपाली कांग्रेसँगै राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले पनि समर्थन गरेका थिए ।
प्रदेशको नाम वागमती राख्न सहमत भएको विवेकशील साझा पार्टीले भने स्थायी राजधानी काभ्रेको धुलिखेल प्रस्ताव गरेको थियो । तर धुलिखेललाई राजधानी बनाउने प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको छ ।
प्रदेश ३ को राजधानी काभ्रपलाञ्चोक हुनुपर्ने पक्षमा सत्तारूढ नेकपाका अधिकांश प्रदेशसभा सदस्य थिए । उनीहरुले प्रदेशसभामा प्रस्तावसमेत लगेका थिए । हेटौंडाको पक्षमा मकवानपुर, चितवन र सिन्धुलीका सदस्यमात्र थिए ।
तर नेकपा केन्द्रीय सचिवालयले हेटौंडा नै स्थायी राजधानी बनाउन प्रदेश कमिटीलाई निर्देशन दिएपछि नेकपाका सांसदले बाध्य भएर हेटौंडाको पक्षमा मतदान गरेका हुन् । कतिपय सांसदले पार्टी निर्णय नमान्ने चेतावनी दिए पनि अन्तिममा हेटौंडाको पक्षमा मतादन गरेका छन् ।
प्रदेशसभामा हेटौंडाको विपक्षमा विवेकशील पार्टीमात्र उभिएको छ । प्रदेशसभाका ११० सिटमध्ये सभामुख सानुकुमार श्रेष्ठले मतदान गरेनन् भने नयाँशक्तिबाट निर्वा्चित तर पछिल्लो समय स्वतन्त्र रहेका सांसद् प्रेम तामाङ मतदान प्रक्रियामा अनुपस्थित थिए ।
प्रदेश ३ को नाम बागमती राख्ने प्रस्तावमा पनि आजै छलफल हुँदैछ ।












