Logo
Logo

तिमी नै भन सखा



ल भन सखा, तिमी नै भन
धान उमार्ने खेतमा जमेको पानी
त्यसपछिको त्यो काठको सानो मचान
खुसीले होइन बाध्यताले बस्दा
त्यहाँ बसेर कलेजको होमवर्क गर्दा
आलोपालो झरीको तितरबितर हेरेको
ताल बनेको खेतमा
कतै धान रोपिएको, कतै घर बनिरहेको
इँट माथिका काठका फल्याकहरू
ती सेतु थिए आवत–जावत गर्ने
यात्राको त्यो मुकामबाट हेर त !
लामो यात्रा तय गरेपछि कहाँ छौँ तिमी ?
अहिले अरब सागरका तितरबितर लहरहरू
गगनचुम्बी इमारतबाट हेरिरहँदा
कस्तो लाग्छ ?
जति समेट्न सक्यो ती लहरमा खुसीको लहर
प्रियतमालाई साथ लिएर
त्यो आफ्नो हुन्छ, पाको हुन्छ
फोसा जिन्दगी बाच्नेको लागि
अब तिमी भन, निर्धक्कसँग भन
विलम्ब गर्ने समय नै कहाँ छ त ?

प्रतिक्रिया दिनुहोस्