काठमाडौं । चीनले नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा राख्ने नेकपा माओवादी केन्द्रले बताएको छ ।
शुक्रबार माओवादी विशेष अभियानका सम्बन्धमा गरेको पत्रकार सम्मलेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले नक्सा विवादबारे प्रधानमन्त्रीले कुटनैतिक तवरबाट कुरा राख्ने जानकारी दिएका हुन् ।

उनले भने, ‘चीनले किन यसो गरेको यसबारे कुटनैतिक तवरबाट हल खोजिनुपर्छ । हाम्रा प्रधानमन्त्रीज्यू चीन भ्रमणमा जाँदै हुनुहुन्छ । यस विषयमा कुरा राख्नुहुन्छ, चुच्चे नक्सा सम्बन्धमा अघिल्ला सरकारले पनि चीनलाई जारी गराइसको जानकारी दिएका छन् । के कसो भएको हो हामी बुझ्ने प्रयास गरिरहेका छौं ।’
चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा छेउमा नेपालको पुरानै नक्सा राखेर जारी गरेको छ । नेपालको भूमि भारतले समेटेपछि नेपालले २०७७ साल जेठ ७ मा आफ्नो लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको थियो ।
नेपालको नयाँ नक्सालाई भारतले स्वीकार नगरिरहँदा चीनले पनि सोमबार नयाँ चुच्चे नक्साको स्थानमा पुरानै नक्सालाई स्थान दिएर आफ्नो नयाँ नक्सा ल्याएको छ ।














