Logo
Logo

एमालेविरुद्ध सत्तारुढ दलले मोर्चाबन्दी गरेको छ : ज्ञवाली


441
Shares

रुपन्देही । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशमा अस्थिरता निम्त्याउन प्रमुख प्रतिपक्षमा रहेको एमालेविरुद्ध सत्तारुढ दलले विदेशी शक्तिहरूसँग मिलेर मोर्चाबन्दी गरेको आरोप लगाएका छन् । शनिबार बुटवलमा आयोजित पार्टीको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रमुख प्रतिपक्षविरुद्ध मोर्चाबन्दी गरेको विषय सामान्य नभएको बताएका हुन् ।

‘देशी विदेशी शक्ति मिलेर एमालेलाई कमजोर बनाउन यसो गरिएको हो । देशमा अस्थिरता निम्ताउन यसरी एमालेविरुद्ध मोर्चाबन्दी गरिएको छ, हरेक एमालेका सचेत कार्यकर्ताले यो विषय बुझ्न जरुरी छ’ नेता ज्ञवालीले भने, ‘यतिबेला पार्टी शान्तिपूर्ण युद्धमा छ, लुम्बिनीबाट देशका आम कार्यकर्तालाई सन्देश दिनुपर्ने छ, त्यसैले साथीहरुले यहाँबाट त्यो सन्देश दिनुहुनेछ ।’
उनले सत्तारुढ दलहरू र प्रधानमन्त्रीलाई आलोचना गर्दै आफ्नो कुर्सीको दीर्घायुको लागि जस्तोसुकै सम्झौता गर्नेहरूबाट नेपालीले कुनै आशा गर्न नसक्ने बताए ।

नेता ज्ञवालीले भने, ‘देशको प्रधानमन्त्री, मन्त्री र सरकारमा रहेका दलका नेताहरूले सामाजिक सद्भाव खलबलिने गरी दिएका अभिव्यक्तिले देशलाई थप अस्थिरतामा लगेको छ ।’ उनले सत्तारुढ दलका नेता कार्यकर्तालाई जोगाउने गरी विभिन्न भ्रष्टाचारका फाइलहरू खोल्ने र बन्द गर्ने हल्ला गरिएको बताउँदै अब एमालेभित्रको एकताबाट त्यसलाई चिर्ने गरी अगाडि बढ्नुपर्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्