
काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेसी न्यायाधीशद्वय सपनाप्रधान मल्ल र सुष्मलता माथेमाको संयुक्त इजलासमा परेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भन्दै एमाले कोशी प्रदेशले हालेको रिटमा न्यायाधीशद्वय मल्ल र माथेमाको संयुक्त इजलासमा आज अन्तिम सुनुवाइ हुने भएको हो ।
प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले भदौ ६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ ।
जसकाकारण सो आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार कुनै पनि महत्वपूर्ण निर्णय गर्न नपाउने गरी कामचलाउको अवस्थामा छ । यसअघि गत शुक्रबार पनि सुनुवाइका लागि न्यायाधीश इश्वर खतिवडासहितको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर, अतिवडा इजलासमा बस्न नमानेपछि ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको थियो ।














