
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीलंका प्रस्थान गरेका छन् । एसिया कप अन्तर्गत भोलि दिउँसो नेपाल र भारतबीच हुने म्याच हेर्न लामिछाने श्रीलंका गएका हुन् । साथमा उनकी पत्नी निकिता र सहयोगी दीपक बोहरा पनि छन् ।
एसिया कप २०२३ अन्तर्गत ‘सुपर फोर’ का लागि भोलि नेपालले बलियो टोली भारतको सामना गर्दैछ । यो खेल श्रीलंकाको पेल्लेकले अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार २ः४५ बजेपछि सुरु हुने छ । म्याच सुरु हुनुभन्दा ३० मिनेटअघि दिउँसो २ः१५ बजे टस गराइने छ । नेपाली टोलीको कप्तानी रोहित पौडेल र भारतीय टिमको कप्तानी रोहित शर्माले गर्नेछन् ।
आफ्नो पहिलो खेलमा नेपाल विश्व नम्बर १ टिम पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो । पाकिस्तान र भारतबीच हिजो भएको खेल वर्षाका कारण रद्द भयो र उनीहरूले अंक बाँडेका छन् । नेपाल र भारतमध्ये एक टिमले भोलि सुपर फोरमा स्थान बनाउने छ ।














