काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु राणा देउवाले बाँदर नियन्त्रणका लागि नयाँ उपायको खोजी गर्नुपर्ने बताएकी छन् । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा किसान बाँदरबाट पीडित रहेको भन्दै उनले बाँदरको संख्या घटाउनका लागि परिवार नियोजन पनि विकल्प हुनसक्ने बताएकी हुन् ।

सांसदहरुले बाँदर तथा बँदेलले अन्नबालीमा क्षति पुर्याएका कारण उत्पादन घटेको, किसान भोकमरीको सिकार हुने अवस्था रहेको भन्दै क्षतिपूर्ति दिलाउन समिति लाग्नुपर्ने बताएपछि राणाले यस्तो धारणा राखेकी हुन् ।
‘यो संवेदनशील विषय हो किनभने मानिसको खाना नै क्षति भइरहेको छ । बाँदरको पहिलादेखि समस्या थियो, बँदेलको पनि समस्या रहेछ’ सभापति राणाले भनिन्, ‘मानिस र जनावरको द्धन्द्धमा के चाहीँ गरिराछ ? संरक्षण गर्नु राम्रो हो, म एकदमै संरक्षण अभियन्ता नै हो । तर, मान्छेले खान नपाउनेगरी संरक्षण गरेर फाइदा छैन ।’
बँदेल खाने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । उनले भनिन्, ‘बँदेल त खान्छ नी मान्छेले, बाँदर त खाँदैन । बाँदरलाई त फ्यामेली प्लानिङ गरे हुने रहेछ । भारतको हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ ।’ सभापति राणाले विदेशमा शिकार गर्ने समय तय गरेको हुने तर नेपालमा भने त्यस्तो व्यवस्था नभएकोले वन्यजन्तुको व्यवस्थापन राम्रो हुन नसकेको बताइन् ।














