
काठमाडौं । रुपन्देहीको बुटवलमा जारी एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनमा अध्यक्षसहितका सबै पदमा दुई समूहले उम्मेदवारी दर्ता गराएका छन् । सबै पदमा दुवै समूहले उम्मेदवारी दिएपछि नेतृत्व चयनका लागि मतदान हुने पक्का भएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्न निर्देशन दिएका थिए । तर, सहमतिमा नेतृत्व टुंग्याउन नेताहरु तयार नभएपछि अध्यक्ष ओलीको निर्देशनविपरीत चुनाव हुन लागेको हो ।
लुम्बिनीको नेतृत्वका लागि अध्यक्षका आकांक्षी हालका अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्यसमेत रहेका हरिप्रसाद रिजालबीच प्रतिस्पर्धा हुँदैछ । त्यसका लागि आज दिउँसो ३ बजेबाट मतदान गर्ने तयारी भइरहेको छ ।
उम्मेदवारी दर्ताको समय सकिएसँगै दाबी विरोध, उम्मेदवारी फिर्तालगायतका कामहरू हुने छ । एमाले लुम्बिनीको उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ र पुजन विश्वकर्मा, सचिवमा लक्ष्मण आचार्य र सोम सापकोटा तथा उपसचिवमा १२ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै उपाध्यक्षमा उम्मेदवारी दिएका श्रेष्ठ, कँडेल र विश्वकर्मा रिजाल पक्षका हुन् । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २०५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ ।
नेतृत्वका विषयमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलबीच शक्ति संघर्ष देखिएकाले अधिवेशन पेचिलो बनेको हो । महासचिव पोखरेलले केन्द्रीय सदस्यसमेत रहेका रिजाललाई समर्थन गरेका छन् भने उपाध्यक्ष पौडेलले वर्तमान अध्यक्ष कँडेललाई समर्थन गरेका छन् ।














