Logo
Logo

बालेन लक्षित गर्दै काठमाडौं प्रशासनले भन्यो- जथाभावी वक्तव्यबाजी नगर्नू


1.1k
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न अनुरोध गरेको छ ।
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह –बालेन)लाई इंगित गर्दै सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।

बालेन पत्नी चढेको सरकारी नम्बर प्लेटको गाडी शनिबार राति कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो । श्रीमती चढेको गाडीलाई केरकार गरेको भन्दै बालेनले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई समेत फोन गरेर आक्रोश पोखेका थिए । 

उनले सामाजिक सञ्जालमार्फत सिंहदरबारमा आगो लगाइदिने धम्की समेत दिएका थिए । उनले उक्त स्टाटस भने अहिले फेसबुकबाट हटाइसकेका छन् ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा बालेनको धम्कीको चर्को आलोचना भएपछि आइतबार बालेनको सचिवालयले विज्ञप्ति जारी गर्दै चेकिङको नाममा सुरक्षाकर्मीबाट अभद्र व्यवहार भएको आरोप लगाएको थियो ।

सोमबार जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै कुनै गुनासो भएमा तथ्य प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारीसमक्ष जानकारी दिन र जथाभावी वक्तव्यबाजी नगर्न भनेको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरुलाई निरुत्साहित गर्ने गरी सामाजिक सन्जालहरुमा व्यक्त भएका अभिव्यक्तिहरुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । यसर्थ आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा बाधा नपुर्याउनु हुन र विभिन्न सामाजिक सञ्जालहरुमा जथाभावी वक्तव्यबाजी नगर्नु/नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’

सरकारी कामका लागि बिदाका दिनमा सरकारी सवारीसाधन प्रयोग गर्नुपर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास प्रयोग गर्न पाउने स्पष्ट व्यवस्था रहेको जनाउँदै काठमाडौं जिल्ला प्रशासनले यसबाट निजी काममा सरकारी सवारी साधनको प्रयोगमा कमी आई मितव्ययिता गर्न मद्दत पुगेको जिकिर गरेको छ ।

गृह मन्त्रालयको निर्देशनअनुसार सरकारी स्रोत साधनको दुरुपयोग नियन्त्रणका लागि स्थानीय प्रशासन निरन्तर क्रियाशील रहेको छ र भविष्यमा समेत दृढतापूर्वक यो नीति कार्यान्वयन गरिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्